मनराम फाउण्डेसनद्वारा पुस्तकालय तथा पुरस्कार हस्तान्तरण
काठमाडौ । मनराम फाउण्डेसनको नवौं स्थापना दिवस सम्पन्न भएको छ । यस वर्ष विकट जिल्लाका २१ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । काठमाण्डौंमा भएको कार्यक्रमको प्रमुख अतिथी अमेरिकी राजदुत र्यान्डी बेरीले विद्यालयका प्रतिनिधिलाई पुस्तकालय हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै राजदुत र्यान्डी वेरीले अमेरिकन कम्पनी हिमालयन कर्पोरेसनले नेपाली समाजको शैक्षिक स्तर सुधार गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै आफ्नो पनि पृष्ठभूमि शिक्षण पेशा नै रहेको र समाज रुपान्तरणमा शिक्षाको महत्व कति हुन्छ भन्ने आफूलाई व्यवहारिक ज्ञान रहेको बताए । कर्पोरेसनले नेपालको ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा खेलेको योगदानमा अमेरिकी जनता र सरकारको सहयोग रहने समेत बताएका छन् । नेपालको ग्रामीण क्षेत्रमा पुस्तकालय स्थापना गर्न पाउँदा कर्पोरेसन गौरव गर्दछ भन्दै हिमालयन कर्पोरेसनका अध्यक्ष सुजन कुमार श्रेष्ठले सिइओ सुमन श्रेष्ठले घोषणा गरेको एक प्याकेट डगच्यु एक विद्यार्थी अभियान अन्तरगत संकलित रकमको सहयोगले आज यो सम्भव रहेको बताए । फाउण्डेसनले नौ वर्षको अवधिमा मुलुकका सबै जिल्लामा लाइवेरी पुर्याई सकेको छ । १५४ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनका साथै संखुवासभाका कक्षा पाँच सम्मका विद्यार्थीलाई निःशुल्क कपी कलम,कम्प्युटर समेत सहयोग गरी सात करोड भन्दा बढीको सहयोग गरिसकेको समेत उनले जानकारी दिएका थिए । सोही कार्यक्रममा मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७६ बाट संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्य पुरस्कृत गरिएको थियो । मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)द्वारा स्थापित पुरस्कार सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्त रुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसका कारण चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित
बेइजिङ । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १सय ६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५ सय १५ जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७ सय ६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८ सय ६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । सोमबार मात्र १ हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु २ हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ । सोमबार मात्र करिब ६० जना कोरोना भाइरसबाट निको भएर अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । यसअघि पनि यस रोगबाट निको भएका १ हजार भन्दा बढी घर फर्किएका थिए । यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा ३० प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाई छ । उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । रासस
नगरपालिकाद्वारा कालिका मन्दिर निर्माणमा दश लाख सहयोग
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको तर्फबाट रु १० लाखको चेक मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशराज पन्तलाई सोमबार हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख चौधरीले मन्दिर निर्माण भएपछि यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिर निर्माणका लागि नगरपालिकासँगै वैदेशिक रोजगारमा संलग्न युवाले पनि सहयोग गरेका छन् । विपन्न ५५ परिवारलाई ग्याँस चुलो वितरण कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले विपन्न अवस्थाका ५५ परिवारलाई ग्याँस चुलो वितरण गरेको छ । गाउँपालिका–५ का विपन्न अवस्थमा रहेका परिवारको छनोट गरी खाना बनाउने ग्याँस चुलो वितरण गरिएको हो । वडा कार्यालयबाट विनियोजित रु एक लाख बढी रकम खर्चेर विपन्न परिवारलाई सोमबार ग्याँस चुलो वितरण गरिएको वडाध्यक्ष कृष्णबहादुर रोकायाले बताएका छन् । ग्याँस चुलो वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले विपन्न परिवारलाई गाउँपालिकाले सीपमूलक तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि कार्यक्रम अघि सारेको बताउनुभयो । रासस