कर्णालीमा स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा हमालसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । ‘यसपालि, घुमौं कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । ‘यसपालि, घुमौँ कर्णाली’ सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गरेका हुन् । नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमित रुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो । रासस
श्रेष्ठ दम्पतीको हत्या भएको दुई महिनापछि फरार अभियुक्त पक्राउ
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताएका छन् । वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै हत्या गरी ती अभियुक्त फरार रहेका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटनापश्चात् केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको सात जना र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी नेतृत्वको पाँच जनाको समूहले संयुक्त रूपमा गरेको अनुसन्धानका क्रममा घटना भएको एक महिना २८ दिनमा दुवै जनालाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा ती दुई जनाले १८ गते राति काठमाडौँबाट योजना बनाई आएर श्रेष्ठ दम्पतीको घरमा राति ९ बजे झ्यालबाट प्रवेश गरी मादक पदार्थ सेवन गर्नुका साथै चाउचाउ खाएर त्यही घरमा सुतेको र राति खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेर पुरानो पैसा लुटेर फरार भएको पत्ता लागेको थियो । अभियुक्तको साथबाट लुटेर लगेको पुरानो पैसासहित अन्य सामग्रीसमेत बरामद गरिएको जनाइएको छ । अभियुक्तलाई बुधबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरी प्रमुख पौडेलले बताए । रासस
अब १० रुपैयाँमा बासमती चामलको भात पेटभरि, वर्षमा ३ सय ६५ दिन नै पाइने
विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ ।अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७ सय देखि एक हजार जनासम्मले खाना खाने गरेको बताउनुभयो । क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहेका छन् । “दिनको करिब रु १७ हजार खर्च हुन्छ”, अभियानकर्मी धाडेवालले भने, “यो अभियान अब सधैंं रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन् ।” एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन् । यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ । “वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ”, उनले भने । सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ । रासस