मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा
काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए । सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उनले गुनासो गरे । उनले भने, “सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।” “सडक डिभिजनले जिल्ला मालपोत कार्यालयमा बुझाएको खबर मात्र पाएका छु, लालपुर्जा भने दिएको छैन”, रौलेले भने। केवल एक पात्रकाे रुपमा रहेका राैल जस्ता सडकमा परेर काटिएको जग्गाको लालपुर्जा सोही ठाउँका रामप्रसाद उपाध्यायले समेत नपाएको बताए । “डिभिजन सडकले मुआब्जाका लागि लालपुर्जा चाहियो भनेर दियाै, तर काहाँ छन् कुनै पत्ता छैन”, उपाध्यायले भने । साँफे–मार्तडी राजमार्ग सडक छेउमा रहेको जग्गाको आधा भाग काटिएका छ । त्यस्तै बडीमालिका नगरपालिका साविकको बूढीगङ्गा गाविस–६ का स्थानीय रङ्ग बडुृवालले पनि मुआब्जाका लागि दिएको लालपुर्जा अझै पाउन सकेका छैनन् । सडकमा खेतीयोग्य जमिन काटिएपछि मुआब्जा पाए पनि सडक निर्माण सकिएको वर्षाै बित्दा पनि उक्त जग्गाधनी पुर्जा नपाएको बडुवालले बताए। लालपुर्जा नहुँदा जग्गा धितो राखेर ऋण निकाल्न समस्या भएको बडुवालको भनाइ रहेको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराछोरी पढाउन र व्यवसाय गर्न लालपुर्जा अनिवार्य धितो राख्न चाहिने भएकाले सो नहुँदा ऋण लिन कठिन भएको बडुवालले दुखेसो गरे । साँफे–मार्तडी राजमार्ग सडकमा परेका बूढीगङ्गा नगरपालिका साविकका बाह्रविसको इकडीगाड हुँदै कुल्देवमाडौँको बार्जुगाड, बाम्का, फालासै र बह्मतोला गाविसको सेरा, बल्दे अमकोट र बडीमालिका नगरपालिकाका साविकको बूढीगङ्गा र मार्तडी गाविसमा रहेका तिपाडा, रिला, जडांगा, रापक र मार्तडीका गरी २२५ बढी परिवारका जग्गाधनी प्रमाण पुर्जा जिल्ला मालपोत कार्यालयमा थन्किएका छन् । सडक डिभिजन कार्यालय साँफेका अनुसार राजमार्ग सडकमा परेका जग्गाधनीलाई मुआब्जा बुझाएको र जग्गाको कित्ताकाट गर्नका लागि जिल्ला मालपोत कार्यालय बाजुरामा पत्रसहित जग्गाधनीका प्रमाण पुर्जा बुझाएको जनाएको छ । मालपोत कार्यालय बाजुराले नै जग्गाधनीका प्रमाणपत्र बुझाउन ढिलाइ गरेको बताइएको छ । सडक डिभिजन कार्यालयले २२५ जना बढीको जग्गाधनी प्रमाण कार्यालयको लिखितपत्रसहित बुझाएको भए पनि सडकको क्षेत्रमा जग्गाको कुनतर्फ काटिएको हो भन्नेबारेमा यकिन नभएकाले उक्त प्रमाणपत्र दिन नसकेको मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मण पाण्डेले बताए । सडक डिभिजनको त्रुटिका कारण जग्गाधनीको प्रमाणपत्र बुझाउन नसकेको पाण्डेले स्वीकार गरे। “सडकमा परेका जग्गा काटिएको क्षेत्र स्पष्ट भए यो समस्या नै आउने थिएन”, पाण्डेले भने । सडक डिभिजन साँफेलाई काटिएका जग्गाको लगत माग्दा लगत नै नदिएको मालपोत प्रमुख पाण्डेको भनाइ रहेको छ । सडकमा परेका जग्गाको नीतिगत रुपमा नक्सा नभएकाले जग्गाधनी पुर्जा दिन नमिल्ले पाण्डे बताए । कित्ताकाटमा प्राविधिको नै गल्ती भएकाले नापी कार्यालयले सडकमा परेका जग्गाको क्षेत्र खुलाउने गरी पुन सर्भे गर्नपर्ने आवश्यक रहेको पाण्डेको भनाइ छ । मालपोत कार्यालयमा विगतदेखि थन्किएका जग्गाधनीका प्रमाण पुर्जा फिर्ता गर्न नापी कार्यालय बाजुराबाट अमिनले सर्भे गरेर मात्र दिन सकिने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । नापी कार्यालयमा कर्मचारी अभावका कारण सडकमा परेका जग्गाको पुनः सर्भे गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेकाे भनाइ ५ । सडकको क्षेत्र खुलाउने गरी तत्काल अमिन खटाएर जग्गा प्रमाण पुर्जा फिर्ता गर्ने प्रतिवद्धता उनले भने । साँफे–मार्तडी राजमार्ग सडकमा परेर काटिएका जग्गाको पुनः सर्भे गराउन सडक डिभिजन कार्यालय साँफे तयार रहेकाले बिदाको समयमा सर्भे गर्ने तयारी थालिएको प्रजिअ न्यौपानेको भनाइ थियो । साँफे–मार्तडी राजमार्ग सडकखण्ड निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । रासस
बाँकेमा चट्याङ लागेर एकै परिवारका पाँच घाइते
चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् । चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ । रासस
निर्माणधीन क्रिकेट रंगशालालाई कलाकारद्वारा आर्थिक सहयोग
काठमाडौ । चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन ज्योति काफ्ले (गल्कोटे बा) र अशोक धिताल (बाहुन डन) ले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन् । जनस्तरको सहयोग जुटाउदै निर्माणधीन रंगशाला बनाउन नेपाल टेलिभिजनको चर्चित टेलिफिल्म भ्रदगोलका निर्देशकद्धय गल्कोटे बा र बाहुन डनले नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । पर्यटन प्रर्वद्धनसँगै रंगशाला बनाउने महाअभियानस्थलमा नै भद्रगोल युनिटसहित पुगेको टोली टेलिफिल्म समेत छायाकंन गर्दै नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको निर्देशक ज्योति काफ्ले (गल्कोटे बा) ले बताए । उनले भने, यत्रो अभियान चलिरहदाँ केही हदसम्म सानो सहयोग र श्रमदानसगैँ अभियानलाई थप सहयोग जुटाउन हामी यहीं आएर सहयोग गरेका हौँ, सानो सहयोग भएपनि यो अभियानलाई थप सहयोग आउने अपेक्षा छ । सोही अवसरमा धुमुर्सलाई समेत अभियान गराउदै भद्रगोल टोली एक एपिसोड श्रृखला रगंशाला केन्द्रीत हुने पनि बताएको छ । सोही अवसरमा कुराकानी गर्दै अर्का निर्देशक धितालले भद्रगोलमा थप सशक्तका साथ जनजिवनसगा सरोकार राख्ने विषयमा केन्द्रित हुने प्रतिक्रिया समेत दिए । धुमुर्सले भने रंगशाला बनाउने अभियान जो जसले जहाँबाट पनि सहयोग गर्न सक्ने भन्दै कलाकार टोलीहरुको साथले आफुहरुलाई थप हौसला मिलेको बताए । भद्रगोल युनिट आफ्नो नयाँ भाग छायांकनसगैँ झण्डै ३ घण्टा पनि निर्माणस्थलमा श्रमदान पनि गरेको थिए ।