ब्रेन हेमोरेजको नयाँ उपचार विधिः भारतमाभन्दा नेपालमा आधा सस्तो, यी अस्पतालले दिन्छन् सेवा

काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार पाइने विश्वास पनि उनको परिवारको छ । ब्रेन हेमोरेज मष्तिष्कको वरिपरि हुने रक्तस्राव हो । यो एक निकै नै जटिल स्वास्थ्य अवस्था भएको कारण नेपालमा राम्रो उपचार हुँदैन होला भन्ने अनुमान धेरै नेपालीकाे छ । तर, अहिले नेपालमा न्युरो सम्बन्धी अन्तराष्ट्रियस्तरका सबै उपचार हुने ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्यूरो इन्टरभेन्सनिष्ट डा. सुवास फुयाँल बताउँछन् । के हो ब्रेन हेमोरेज ? ब्रेन हेमोरेज मष्तिष्कमा वा मस्तिष्क वरिपरि हुने रक्तस्राव हो । यो दुई प्रकारको हुन्छ । बाहिरी चोटपटक लागेर हुने हेमोरेजलाई ट्रमाटिक हेमोरेज भनिन्छ । यो एक प्रकारको हेमोरेज हो । दिमागभित्र रक्तस्राव हुने अर्काे प्रकारको हेमोरेज हो । यसलाई ननट्रमाटिक हेमोरेज भनिन्छ । ननट्रमाटिम ब्रेन हेमोरेज बसिरहेको समयमा अचानक रक्तचाप उच्च भएर हुने गर्दछ । यो अवस्थामा बिरामीमा दिमागमा रगत निर्यात गर्न नशाको भित्ता बेलुन जस्तो फुल्छ । यसरी फुलेको नसा फुटेपछि बिरामीलाई हेमोरेज हुने गर्दछ । यसरी नशा फुल्नुलाई ब्रेनयेन्युरिजम भनिन्छ भने फुटेपछि हुने अवस्थालाइ ब्रेन हेमोरेज भनिन्छ । स्पोनटेनियस ब्रेन हेमोरेज विभिन्न प्रकारका चोटपटक लागेर हुने बे्रन हेमोरेजभन्दा पनि आफै हुने ब्रेन हेमोरेजको बारेमा कम जानकारी प्राप्त हुन्छ । उच्च रक्तस्रावको कारण उमेर बढ्दै गएको मानिसमा मस्तिष्कका नशाको भित्ता पातलो भएर जान्छ । यसरी पातलो भएको नसा फुलेर फुट्छ र ब्रेन हेमोरेज हुने गर्दछ । यस्तो बिरामीलाई तत्काल उपचारको आवश्यक हुन्छ । किनभने एक पटक मस्तिसकको नशाको भित्ता फुटिसकेपछि दोस्रो पटक पनि फुट्ने सम्भावना बढी हुने डा. फुयाँल बताउँछन् । एक पटक फुटेपछि उक्त भित्ता आफैं केही समय वा दिनको लागि बन्द भईदिन्छ । यसरी बन्द भएको नसाको भित्ता खुलेको अवस्थामा मान्छेको ज्यानै पनि जान सक्छ । स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार पद्धति स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार दुई तरिकाले हुन्छ । यसको पहिलो र सबैभन्दा पुरानो उपचार भनेको टाउको खोलेर गरिने उपचार हो । यस्तो उपचार सेवा नेपालका क्रिटिकल केयरको उपचार सेवा दिने धेरै अस्पतालमा धेरै वर्ष पहिलादेखि नै हुँदै आएको छ । यसको दोस्रो र सबैभन्दा नयाँ उपचार विधि भनेको टाउको नखोली गरिने उपचार हो । यो उपचार पद्धतिबाट हाल नेपालका दुई अस्पतालमा मात्र उपचार गरिन्छ । हालसम्म १ सय ३० वटा केसहरु हेरिसकेका डा. फुयाल धापासीमा रहेको ग्राण्डी ईन्टरनेसनल अस्पतालमा कार्यरत रहेका छन् । कसरी हुन्छ टाउको नखोली उपचार ? यो उपचार पद्धतिमा खुट्टा वा हातको नशाबाट तार लिएर त्यसलाई एक्स–रेको माध्यमबाट हेरेर दिमागमा फुटेको भागमा लगेर जोडिन्छ । संसारभर अहिले यो सबैभन्दा चलेको बे्रन हेमोरेजको उपचार पद्धति रहेको हो । डाक्टरहरुका अनुसार यो पद्धतिमा जोखिम पनि कम हुन्छ र बिरामी पनि ६/७ दिनमै घर जान सक्छन् । टाउको खोलेर गरिने उपचार पद्धतिमा बिरामीको अस्पताल बसाई पनि लामो हुने डा. फुयालले बताए । कति लाग्छ खर्च ? उपचार खर्चको मात्रै कुरा गर्ने हो टाउको नखोली गर्ने उपचार विधि टाउको खोलेर गरिने उपचारको दाँजोमा धेरै नै महँगो हुन्छ । तर, टाउको खोलेर उपचार गर्दा अस्पताल बसाई, अस्पतालमा लामो बसाईबाट पाइने तनाव जस्ता विषयको तुलना गर्दा भने टाउको नखोली गरिने उपचार विधि नै सस्तो भएको महसुस हुने गर्छ । टाउको नखोली गरिने उपचारमा प्रयोग हुने मेसिन पनि विदेशबाट आयात हुन्छ । यस्तो उपचारका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्म लाग्न सक्ने डा. फुयाल बताउँछन् । डा. फुयाँलले ६ वर्ष लामो अध्ययनपछि नेपालमा पहिलोपल्ट गत बैशाखमा ग्राण्डी ईन्टरनेसनलबाट यो उपचार पद्धतिबाट सेवा सुरु गरेका हुन् । यस्तै, टाउको खोलेर गरिने उपचारमा बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने हुनाले यसको उपचार खर्च पनि धेरै लाग्ने टिचिङ अस्पतालका न्युरो सर्जन डा.गोपाल सेडाई बताउँछन् । कहाँ हुन्छ ब्रेन हेमोरेजको उपचार ? ब्रेन हेमोरेजको उपचार सरकारी अस्पतालहरु काठमाडौंको टिचिङ, वीर र चितवनको भरतपुर अस्पतालमा हुने गरेको छ । यस्तै, बानेश्वरको सिभिल अस्पतालमा यसको सर्जरी नभए पनि चिकित्सकको प्रबन्ध भने हुने टिचिङ अस्पतालका न्युरो सर्जन डा. सेडाईले जानकारी दिए । निजी लगानीद्धारा संचालित काठमाडौंको ग्राण्डी इन्टरनेसनल, मेडिसिटी, न्युरो, नर्भिक र ह्याम्स अस्पतालमा पनि यसको उपचार हुन्छ । उपत्यका बाहिरमा चितवनको चितवन मेडिकल कलेज, पोखराको मणिपाल, बिराटनगरको नोबल मेडिकल अस्पताल, बिराट मेडिकल कलेज तथा अन्य धेरै प्राईभेट अस्पतालहरुमा यसको उपचार हुने डा. फुयाँलले जानकारी दिए । ब्रेन हेमोरेजको लक्षण सामान्य पेनकिलरले ठीक नहुने गरी अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु ब्रेन हेमोरेजको लक्षण हो । रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी महसुस हुन बे्रन हेमोरेजका लक्षण हुन् । भारतभन्दा ५० प्रतिशत सस्तो टाउको नखोली गरिने उपचार पद्धतिमा प्रयोग हुने मेसिनको भारत र नेपालमा करिब उस्तै शुल्क लाग्ने डा. फुयाँल बताउँछन् । नेपालमा एउटा डाक्टरले यस्ता केस गरेको २० हजारदेखि ६० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने भारतीय डाक्टरले १ लाख रुपैंयाभन्दा बढी लिने फुयाँल बताउँछन् । भारतमा उपचार गर्दा बसाई खर्च, हवाई भाँडा र नयाँ सहरले दिने तनाव जस्ता विषयले नेपालको दाँजोमा भारतमा हुने सबै उपचार खर्च धेरै हुने गरेको छ । किन जान्छन् नेपाली भारतमा ? नेपालका अस्पताल उद्योगले गर्न नसकेको काम नै ब्रान्डिङको हो । नेपालमा ब्रेन हेमोरेजको सफल उपचार हुन्छ भन्ने पर्याप्त जानकारी नपाएका कारण पनि धेरै नेपाली भारत धाउने गरेको ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्युरो सर्जन डा. फुयाल बताउँछन् । अहिलेको अवस्थामा अन्तराष्ट्रिय जगतमा हुने प्रायः सबै उपचार पद्धती नेपालमा प्राप्त हुने उनको भनाइ छ । उपचारको लागि भारत धाउने नेपालीमा भट्ट त एक उदाहरण पात्र मात्र हुन् । उनी जस्ता सयौं नेपालीहरु उपचारको लागि दिनहूँ भारत जाने गरेका छन् । नेपाली उपचार पद्धतिप्रतिको अविश्वास र विशेषज्ञता सेवाको लागि काठमाडौं नै धाउनुपर्न हुनाले भारतसँग नजिकका सिमानामा रहेका धेरै मानिस उपचार गन्तव्य भारत नै रोज्ने बनाउने गरेका छन् । नेपालमा कुन कुन अस्पतालमा कस्तो उपचार हुन्छ भन्ने जानकारी नभएको कारण पनि धेरैले भारतका अस्पताललाई रोज्ने गरेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मन्दिर पुनर्निर्माणमा ५० लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानिय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ । “हाम्रो सम्पदा हामी आफै बनाउन” भन्ने नाराका साथ काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक ४चार करोड ९३ लाखको अनुमानित लागतमा शुरु गरिएको श्री भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तिय संस्था, स्थानिय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भई रहेको छ । यसै क्रममा आज नेपाल इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष एवं सम्पदा प्रेमी पुथ्वी बहादुर पाँडेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई रु. ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँण्डे मार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए ।

मेगा बैंकद्वारा उदयपुरका बालबालिकालाई न्यानो कपडा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरेका हुन् । चिसोका कारण विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ । गत साता मात्रै मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १ सय ५० भन्दा बढी घरधुरीका लगभग २ सय बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो ।