सिरहाका निःसहाय व्यक्तिले पाए न्यायो कपडा, सिटिजन्स बैंकले वितरण गर्यो १५० थान कम्बल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदेै गएपछी सो ठाउँका व्यक्तिलाई उक्त सहयोग गरेको हो । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको हो । केही दिनयता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउनेअवस्थाको अन्त्यगर्न यो कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ । बैंकले ८५ वटा शाखा, ८६ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ए डिभिजन लिगः सातौँ चरणका खेल शुक्रबारदेखि शुरु
काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न ३ः०० बजेपछि शुरु हुनेछ । मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ । मछिन्द्रले चार खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले छ खेलमा दुई हार र चार बराबरीसहित चार अङ्क जोडेको छ । त्यसैगरी समान १३ अङ्क नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा छ । मनाङ्को १२ अङ्क छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अङ्क जोडेको थ्रिस्टार क्लब चौथो, नौ अङ्क जोडेको जाउलाखेल क्लब पाँचौँ, आठ अङ्क जाडेको न्यूरोड टिम (एनआरटी) छैटाैं, समान आठ अङ्क नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा आठ अङ्क नै रहेको सङ्कटा क्लब गोलअन्तरका आधारमा आठाैं स्थानमा छ । त्यस्तै, सात अङ्कका साथ व्रिगेड व्वाइज क्लब नवौँ, छ अङ्कका साथ च्यासल युथ क्लब दशौँ, पाँच अङ्क रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघाराैं, समान पाँच अङ्क नै जोडेको फ्रेण्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ । जारी लिगमा एक अङ्क मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ ।
कर्णालीकाे समृद्धिका लागि पहिलोपटक विकास परिषद् बैठक आयोजना हुँदै
सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को प्रावधानबमोजिम पहिलो पटक बैठक गर्न थालिएको प्रदेश योजना आयोगका प्रवक्ता सुदिशकुमार अर्यालले जानकारी दिए । “पहिलो बैठकमा प्रदेशको प्रथम आवधिक योजनासमेतमा छलफल गरी परिषद्का सदस्यबाट मार्गदर्शन प्राप्त गर्ने बैठकको मुख्य उद्देश्य रहेको छ,” प्रवक्ता अर्यालले भने, “यसले प्रदेशले लिएको नीति तथा लक्ष्य प्राप्ति एवं योजना कार्यान्वयनमा सहयोग पुग्नुका साथै स्थानीय तह र प्रदेश सरकारको समन्वयमा प्रभावकारिता ल्याउने छ ।” प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले बैठकमा पञ्चवर्षीय योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुने बताए । सदस्य डा. रोकायले भने, “मस्यौदामाथिको छलफलबाट हामी सुझाव र मार्गदर्शन प्राप्त गर्नेछौँ । जसबाट प्रदेश सरकारले लिएको ‘सुखी कर्णाली र सुखारी कर्णालीवासी’ नारालाई सार्थक तुल्याउने छ ।” उक्त बैठकमा परिषद्का सहअध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, विभागीय मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभा समितिका अध्यक्ष, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वयसमिति तथा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष प्रदेश सरकारबाट मनोनित ५ सदस्य, प्रदेश सरकारका सचिव गरी करिब १२० जनाको सहभागिता रहने जनाइएको छ ।रासस