आरक्ष पीडितका समस्या समाधान गर्ने तीन मन्त्रीको सामूहिक प्रतिबद्धता

काठमाडौं । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कंचनपुरमा आरक्ष पीडित जनताका अगाडि वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र खानेपानी मन्त्री बिना मगरले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । वन मन्त्री बस्नेतले कंचनपुरका भूमिहीन आरक्ष पीडितहरुका समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको बताए । ‘भूमिहीन भएर बस्नु पर्दाको पीडा हामीलाई थाहा छ, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘जनता दुखी भएर मुलुकको समृद्धि हुँदैन । समतामूलक समाज पनि बन्दैन । त्यसैले कंचनपुरको समस्याप्रति सरकार निकै गम्भीर छ ।’ कार्यक्रममा भूमि व्यवस्था मन्त्री अर्यालले आरक्ष पीडित जनतालाई सधैं पीडामा राख्नु हुँदैन भन्ने कुरामा सरकार दृढ प्रतिबद्ध रहेको बताएका छन् । उनले कंचनपुरका आरक्ष पीडित भूमिहीन जनताको समस्या समाधान गर्न नै आफू आएको स्पष्ट पारे । ‘सुकुम्बासी र भूमिहीन जनतालाई बासस्थानको व्यवस्था गर्ने सरकारको संकल्प हो, उनले भने, ‘यसका लागि हामीले भूमि ऎन ल्याएका छौं । भूमि ऎन मार्फत शक्तिशाली आयोग बनाएर भूमिहीन भएका जनताको समस्या समाधान गर्छौं ।’ त्यस्तै, खानेपानी मन्त्री मगरले आरक्ष पीडित जनताका अगाडि यस अघि गरिएका बाचा तथा प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएकी छन् । ‘धेरै वर्ष देखि यहाँहरुले त्रासदीपूर्ण जीवन बिताइरहनु भएको छ, उनले सम्बोधन गर्दै भनिन्, ‘त्रासदी पूर्ण जीवन र झुपडीमा बस्नुपर्ने दिनको अब चाडैं अन्त्य हुनेछ । हामी सबै प्रतिबद्धता र बाचा पुरा गर्ने छौं भनेर भन्न आएका हौं ।’ खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उनकै अग्रसरतामा दुई मन्त्री कन्चनपुर आएका हुन् । तत्कालीन सरकारले माओवादी जनयुद्धको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाइएको थियो । त्यो समय देखि घरबार विहीन हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा यस अघिका जन प्रतिनिधि र सरकारले कुनै ठोस पहल गरेका थिएनन् । यस अघिका सरकारहरुले समस्या समाधानका लागि भन्दै विभिन्न आयोग बनाए पनि त्यतिबेलाका आयोगले कुनै समाधानको निकास ननिकालेको पीडित स्थानीयहरुको आरोप छ ।२०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो । विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन् ।

सरकारको प्राथमिकतामा धार्मिक पर्यटन, फागुन १ गतेदेखि चन्द्रागिरीमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त भएको जानकारी गराए । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे । शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए । ‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने,‘हाम्रो देश सानो देश भएपनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’ नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थल पनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे । वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नको लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् । धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।’ उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्न ेपनि घोषणा गरे । त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले धार्मिक महायज्ञले धर्म, संस्कृतिको रक्षा गर्ने विश्वास व्यक्त गरे । ‘यस्तो महायज्ञले धर्म र संस्कृतिप्रतिको आस्था र विश्वास बढाउँछ । यो भनेको सबैको साझा गन्तब्य हो ।’–धमलाले थपे । नेपाल गौतम बुद्ध, मुक्तिनाथ, माता जानकी, पशुपतिनाथको देश भएको सुनाउँदै नेपालमा धार्मिक पर्यटनको ठूलो संभावना रहेको धमलाको भनाई छ । ‘धार्मिक पर्यटनको विकास र सम्वद्र्धनको लागि अब राष्ट्रव्यापी अभियान अघि बढाउनुपर्छ । यस्तो कोटिहोमलाई राज्यले सहयोग गर्नुपर्छ । माननीय मन्त्री योगेश भट्टराईले यो महायज्ञलाई सहयोग गर्नुहुन्ुछ ।म यसमा पूर्ण विश्वस्त छु । आगामी दिनमा पनि यस्ताखाले धार्मिक महायज्ञ गर्दै जानुपर्छ ।’ धमलाले नेपालको धार्मिक यात्राको लागि भारत र चीनबाट ठूलो संख्यामा पर्यटकहरु आउनेपनि बताए । कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए । ‘हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान नदिएको उनले बताए । भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ ।’ उनले नेपाल धार्मिक र जैविक विविधिता भएको देश भएकोले आफूहरुसँग राज्यले धर्म पर्यटनबारे छलफल नगरेकोमा भने दुःख व्यक्त गरे । ‘यो धार्मिक पर्यटनको देश हो । सरकारले यसलाई समावेश गरेर लैजानुपर्छ । अनिमात्रै भ्रमण वर्ष सफल हुन्छ ।’–उनले थपे । चन्द्रागिरी नगरपालिका काठमाडौंभित्र रहेको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटनको महत्व बोकेको क्षेत्र भएको पनि अधिकारीको भनाई छ । ‘यो क्षेत्रको विकास हुनुपर्छ । यो आजको आवश्यकत्ता हो । यसप्रति सरकारको ध्यान जाओस् । हामी यो महायज्ञमा भ्रमण वर्षसँग जोडेर हवन गर्नेछौं । यो यज्ञले श्राप देशबाट सबैखाले हटाउँछ । देशलाई समृद्ध बनाउँछ ।’ पछिल्लो समय देशमा भएका सबैखाले मठ–मन्दिरहरु अनियन्त्रित रुपमा चलिरहेको सुनाउँदै यसलाई नियन्त्रण गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए । कार्यक्रममा श्री १००८ स्वामी भागवत आचार्यले नेपाल भ्रमण वर्षलाई आफूहरुले आयोजना गर्न लागेको यज्ञले सहयोग पुर्याउँने विश्वास दिलाए । ‘यो धार्मिक कार्यमा सम्बन्धित मन्त्रालयले यसमा आर्थिक सहयोग र योगदान पुर्याओस भनेर आग्रह र अपेक्षा राखेका छौं ।’–उनले भने । उक्त यज्ञमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि आमन्त्रण गरेको सुनाए । त्यतिमात्रै नभएर भारतका विभिन्न मठ, मन्दिरका पीठाधिश, मठाधिशलाई पनि निमन्त्रणा गरिएको उनले जानकारी दिए । उक्त महायज्ञको सुरुदेखि अन्तिमसम्म (९ दिन) सम्म प्राईम टाईम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेपनि उनले स्पष्टा परे । उनले भने,‘अरु मिडियाले पनि साथ दिनुहोस् । यस यज्ञमा विभिन्न देश र ठाउँबाट आएका मानिसहरुको गाँस, बाँसको व्यवस्था गरिदिन म सरकारी निकायहरुलाई आग्रह गर्न चाहन्छु ।’आजको पत्रकार सम्मेनलको सभापतित्व भने समितिका अध्यक्ष राजाराम थापाले गरेका थिए । उनले भ्रमण वर्षलाईनै टेवा पुर्याउनेगरि आफूहरुले उक्त महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना गर्न लागेको सुनाए । उनले भने,‘हामीले धार्मिक पर्यटनको विकासमा जोड दिएका छौं । यसको लागि विभिन्न देशका धार्मिक निकायहरुसँग कुरा गरिरहको छौं । हामीले यस्तो आग्रह गर्दा उहाँहरुबाट सकारात्मक सन्देश पाएका छौं ।’ उनले उक्त यज्ञ सफल बनाउनको लागि सहयोगको अपिल गर्नुको साथ यज्ञमा सहभागी हुनको लागि निमन्त्रणा पनि दिएका थिए । समितिका अनुसार दैनिक कोटी हवन विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान्ह २ बजेदेखि ५ बजेसम्म रहेको छ । उक्त महायज्ञमा एक करोड दीप प्रज्वलन गरिनेछ भने कथा वाचन विहान ११ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

१२ कराेड लागतमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिँदै

सुर्खेत  । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताएका छन् । उनले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सहित प्रस्तावना लिएर मन्त्रालयसमक्ष सहयोगको आग्रह गर्दै भने, “सहयोग सङ्कलन गरेर निर्माण सम्पन्न गर्न समय लाग्न सक्छ, त्यसैले प्रस्तावना ल्याएर आउनुस्, समपूरक र विशेष अनुदानमार्फत आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउँदछ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सचेतक सीता नेपालीले वीरेन्द्रनगरको मुटु बुद्धपथमै बुद्ध सरोवर निर्माण गरिनु गौरवको विषय भएको बताए । धम्म देशना शुभारम्भमा धर्मगुरु प्रेमदोर्जे लामाले जिल्ला प्रहरी कार्यालयमा बुद्धमूर्तिलाई सम्मानजनक रुपमा राख्न आग्रह गरे । माघ ९ गतेसम्म सञ्चालन हुने ‘धम्म देशना’बाट करिब रु ५० लाख रकम सङ्कलन हुने अपेक्षा गरिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बुद्ध सरोवर निर्माणमा न्यूनतम रु नौ करोडदेखि अधिकतम रु १२ करोड लागतको अनुमान गरिएको व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाया खाम्पाले बताए । आठ कट्ठा क्षेत्रफलमा रहेको प्रस्तावित बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा पनि निर्माण गरिनेछ । धम्म देशनाको शुभारम्भ समारोहमा करिब रु एक लाख बराबरको दान सङ्कलन भइसकेको छ । आयोजकका अनुसार कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले रु १० हजार १००, गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर गुरुङले रु ५१ हजार, स्थानीय झकबहादुर सिजापति मगरले रु ३१ हजार १०१ सहयोग गरेका छन् । रासस