तपाईंको शरीरको आकार कस्तो छ ? यस्तो कपडा लगाउनुस्, साच्चै राम्रो देखिन्छ

काठमाडौं । धेरै मानिसहरु लुगा लगाउन शौेखिन हुन्छन् । आफ्नो शरीरमा चिटिक्क र सुहाउने लुगा सबैलाई मनपर्छ । आफूलाई के लगाउँदा सुहाउँछ वा सुहाउँदैन भन्ने हरेक मानिसको लागि एउटा महत्वपूर्ण विषय हो । किनभने हरेक मानिसहरु सुन्दर देखिने चाहना राख्छन् । विभिन्न कारण तपाईले लगाएको कपडा तपाईलाई निकै नै खुलेको हुन्छ र यसको एक प्रमुख कारण हो तपाईको शरीरको आकार र तपाईको छालाको रंग । पुरुषको दाँजोमा महिलाहरुको भिन्नभिन्न आकारको शरीर र धेरै मात्रामा कपडाको विकल्प हुने भएकोले पनि उनीहरु के लगाउने भन्ने तनावमा हुन्छन् । यद्यपि पुरुषहरुलाई यो समस्या छैन भनेर भन्न मिल्दैन । तपाईंकाके शरीरको आकार अनुसार यस्तो पहिरन गर्नुभयो भने तपाईं वास्तवमै आकर्षक र राम्रो देखिनु हुनेछ । १. त्रिकोण शरीर आकार यदि तपाईको शरीरको आकार त्रिकोण हो कि होईन भन्ने दुविधामा हुनुहुन्छ भने सबैभन्दा पहिला ईजिप्टको पिरामिडको आकार सम्झनुहोस् । त्यस आकारलाई उल्टोबाट सोच्नुहोस् । यदि तपाईको काँध फराकिलो छ, कम्मर सानो छ र तपाईको शरीरको तल्लो भागतर्फ बढ्दै गर्दा खुट्टाहरु पातलो छन् भने तपाईको शरीर त्रिकोण आकारको हो । यदि तपाई यो आकारको हुनुहुन्छ भने खुशी हुनुहोस् किनभने ५ प्रतिशत महिलाहरु मात्र यो आकारको हुने गरेको बताईन्छ । तर यसको मतलब तपाईसँग फेसनका विकल्प कम छन् भन्ने पक्कै पनि होइन । यस्ता धेरै उपायहरु छन्, जसको मद्दतले तपाईले आफ्नो शरीरको माथिल्लो भाग र तल्लो भागलाई ब्यालेन्स गर्न सक्नुहुन्छ । तपाईको शरीरको माथिल्लो भागलाई सानो र राम्रो देखाउन जहिले पनि फिटिंग र गाढा रंगको कपडा लाउनुहोस् । भि–नेक, काउल नेक वा स्क्वायर नेक सर्ट कपडाहरुले तपाईलाई बढी राम्रो देखाउँछ । तपाईको खुट्टाको भागलाई हाई वेस्ट पाईन्ट र स्कर्टहरुले राम्रो देखाउन मद्धत गर्दछ । यस्ता आकार भएका महिलाहरुले टिर्सट, स्कर्टहरुको तल्लो भाग धेरै खुलेको छ भने नलगाउनुहोस् र साथै घुडामा खुला भएको पाईन्टहरु पनि नलगाउनुहोस् । २. आवर ग्लास सेप यो आकारको शरीर भएको महिलाहरुको काँध र हिप उत्तिकै फराकिलो हुन्छ भने कम्मर सानो हुन्छ । धेरै मानिसहरुले यो आकारको शरीरलाई आर्दश आकारको रुपमा लिने गर्छन् । यो आकार भएको महिलालाई राम्रो देखिन कम्मरमा विशेष फोकस गर्न जरुरी छ । यसो गर्नको लागि तपाईले छोटो टिर्सट, कम्मरमा बेल्ट भएको लुगा (र्याप डे्रस), पेन्सिल स्र्कट र यस्ता कुनै पनि लुगा प्रयोग गर्नुपर्छ, जसले तपाईको कम्मर र हिपको भागलाई बढी आकर्षक देखाउँछ । स्टाईल विशेषज्ञहरु यस्ता शरीर भएको मानिसहरुलाई खुला, ठुलो लुगा नलगाउन सुझाव दिन्छन् । यो शरीरको आकार भएको चर्चित हलिउड सेलिबे्रटीमा किम कार्डसियन पर्दछिन् । ३. बनाना आकार यो आकार भएको महिलाहरुको काँध, हिप र कम्मर सबैको एउटै चौडाई हुन्छ । यो आकारको शरीर भएको चर्चित व्यक्तिमा हलिउड नायिका जेनिफर गार्नर र एन्ने ह्याथवे पर्दछन् । यो आकार भएको महिलाहरुको छोटो कम्मर र हिप सानो हुने गर्दछ । यस्ता आकार भएका महिलाहरुलाई स्टाईल विशेषज्ञहरु सर्टलाई पाईन्ट भित्र नहाल्न सुझाव दिन्छन् । यो आकारको महिलाहरुले डे्रस लगाउँदा बेल्टहरुको प्रयोग गर्नुपर्छ । मिनीस्कर्टहरु यो आकारको मानिसहरुलाई निकै राम्रो देखिन्छ । यसका साथै स्किनी जिन्स पनि यो आकारलाई निकै नै खुल्दछ । ४. नाशपाति आकार यो आकार भएका महिलाहरु धेरै नै हुने बताइन्छ । हलिउड सेलिबे्रटी जेनिफर लोपेज यसको एक गतिलो उदाहरण हुन् । यदि तपाईको काँधको चौढाई तपाईको हिपको भन्दा सानो छ भने तपाई नासपति आकारको हुनुहुन्छ । यो आकार भएको महिलाहरुले काँध फराकिलो देखाउने कपडा लगाउनु पर्छ । यो आकार भएका महिलाहरुले टाईट जिन्स पाईन्टहरु लगाउन हुँदैन । किनभने यसले तलको भागमा मात्र ध्यान केन्द्रित गराउँदछ । यस आकारका महिलाहरुले माथिल्लो भागलाई केही ठुलो देखाउन भित्री वस्त्रहरु राम्रो रोज्नपर्छ । यस्तै सिधा आकारका पाईन्टहरु हिलसँग लगाउँदा यो आकारको महिलालाई निकै नै खुल्छ ।

 वैशाखदेखि राती ११ बजेसम्म सार्वजनिक बस चल्ने, १५ रूटमा ६० वस गुड्ने

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । आज कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुना पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो । बैठकमा कामपाका प्रमुख शाक्यले नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि सेवा बन्द भएको थियो । प्रमुख शाक्यले शुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालीन सेवा दिने गरी योजना बनाएर तयार रहन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई आग्रह गरे । बैठकमा पहिलो चरणमा रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पुर्याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६० ओटा बस दैनिक सञ्चालन गर्न सकिने जनाइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालीन गर्ने कुराको सुनिश्चित महासङ्घले गर्नुपर्नेमा जोड दिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए ।  कामपाका शहरी सु–व्यवस्था विभागका प्रमुख हरि कुँवरले पनि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने बताए ।

अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

काठमाडाैं । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए ।  करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्यान्ड रन नबनाईकन पभेलियन फर्किए । उनलाई लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका हुन् । अमेरिकाले टोलीको स्कोर २३ छँदा दोस्रो महत्वपूर्ण विकेट गुमायो । छ दशमलव एक ओभरमा प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्शल आउट भए । सोह्र रन बनाएका उनलाई सुशन भारीले पारसद्वारा नै क्याच आउट गराए । आठौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । दुवै विकेट सन्दीपले लिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनाङ्क पटेललाई सन्दीपले सात दशमलब दुई ओभरमा बोल्ड गरे । उनले चार रनमात्र बनाए । सात दशमलब पाँच ओभरमा सन्दीपले निसर्ग पटेललाई व्यक्तिगत दुई रन बनाएको अवस्थामा बोल्ड गरे । यत्तिमा नै अमेरिकाको विकेट गुमाउने क्रम रोकिएन । अमेरिकाले नवौँ ओभरको तेस्रो बलमा आरेन जोन्सलाई गुमायो । उनलाई व्यक्तिगत चार रनको स्कोरमा सुशनले बोल्ड गरे । त्यो बेला अमेरिकाले २९ रनमात्र बनाएको थियो । यस्तै १०औँ ओभरको पाँचौँ बलमा अमेरिकाका तिमिल पटेल पभेलियन फर्किए । तिमिलले व्यक्तिगत एक रनमात्र बनाए । उनलाई सन्दीपले आउट गरे । एघारौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । सुशनले ११औँ ओभरको पहिलो बलमा केमरुन स्टिभेन्सनलाई पभेलियन फर्काए । सुशनले ११औँ ओभरको अन्तिम बलमा रुस्टी थेरन बोल्ड भए । अमेरिकाले ११ ओभर खेल्दा ३१ रनमा आठ खेलाडी गुमाइसकेको थियो । अमेरिकाले १२औँ ओभरमा सन्दीपको बलमा लगातार दुई विकेट गुमायो । सन्दीपले १२औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसद्वारा नै क्याच आउट गराए । सन्दीपले १२औँ ओभरको अन्तिम बलमा नोस्तुस केन्जीलाई बोल्ड गरे । अमेरिका १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । रासस