कोरोना प्रभाव चलचित्रमा, ‘सिनेमा क्षेत्र बन्द गर्ने तयारी’: मन्त्री ढकाल

काठमाडौं । कोरोनाको त्रास बढेसँगै नेपाली सिनेमा हल बन्द गर्ने कुरा भइरहेको छ । सिनेमा हलमा भिड हुने हुँदा राेग फैलिने प्रमुख स्थान भएका कारण केही अनिश्चितकालका लागि बन्द गर्न पर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए । राष्ट्रिय सभाको बैठकमा स्वास्थ्यमन्त्री  ढकालले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि आगामी दिनमा भिडभाड हुने सबै क्षेत्र बन्द गर्न अनिवार्य रहेको बताए । तत्कालका लागि यस्ता संघसंस्थाहरु बन्द गर्ने विषय छलफल भइरहेको जानकारी दिए । उनले उक्त प्रतिनिधि सभाको बैठकमा बोल्दै कोरोना भाइरसबाट टाढा बस्नका लागि सबै मानिस आफू नै सेफ क्वारेन्टाइनमा बस्नु पर्नेछ । यदि कोही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको खण्डमा सरकारले नै उपचार खर्च व्यहोर्ने जनाए ।

ललितपुर र काभ्रेका ८२ हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइँदै

ललितपुर । ललितपुरका ५० हजार भन्दा बढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए । उनले भने, “नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो ।” अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पुर्याउन अनुरोध गरे । उनले भने, “मुलुकमा बढ्दै गएको कोरोनाको सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्काे जिम्मेवारी थपिएको छ ।” गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिए । काभ्रेका ३२ हजार बालबालिकालाई खोप लगाइँदै यसैगरी,  दादुरा–रुवेला खोप अभियानअन्तर्गतका काभ्रेका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले शनिबार धुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरेका हुन् । जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना सो कार्यालयको रहेको छ । यहाँ छ नपा र सात गाउँपालिका छन् । प्रचारप्रसार तथा आफ्ना छोराछोरीलाई दादुरा–रुवेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाइएको उनले बताए । प्रमुख डा. झाले भने, “अन्तरराष्ट्रियरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ, हामीले भरपुर प्रचारप्रसार र निमन्त्रणा गरिसक्यौँ ।” उनका अनुसार जिल्लाको ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वस्थ्य सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन गरिएको छ । ‘नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ’ भन्ने मूल नारासहित “नौदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउनुहुन सादर अनुरोध गर्दछौँ”, व्यहोराको निम्तापत्र अभिभावकसमक्ष पठाइएको हो । सम्बन्धित स्थानीय तहका प्रमुख, स्वास्थ्य संस्था प्रमुखले सम्बोधन गरिएको निमन्त्रणापत्र स्वास्थ्य स्वयंसेविकामार्फत सबै बालबालिकाको अभिभावकलाई पठाइएको हो । सन् २०१६ मा सञ्चालित दादुराविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यसपटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको प्रमुख डा झाले जानकारी दिए । उनले भने, “बालबालिका तथा अभिभावकलाई सजिलो होस् भन्ने उद्देश्यले सबै बस्तीको पायक पर्ने स्थानमा खोप केन्द्र राखिएका छन् ।” यस जिल्लालाई दुई वर्षअघि नै ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिसकिएको छ । वडा क्षेत्रका सम्पूर्ण बालबालिकाले सो खोप लगाएको प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । “यसपालि कुनै बालबालिका खोपबाट छुटेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्षले लिनुर्नेछ”, उनले भने। ९५ प्रतिशतभन्दा माथिको सङ्ख्यामा बालबालिकाले खोप लिएको भए त्यसलाई ‘पूर्ण खोप’ मानिने नीति छ । सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप दिएको थियो । अभियानको दोस्रो चरणअन्तर्गत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको हो । साथै यस अभियानअन्तर्गत नै झापादेखि कञ्चनपुरसम्मका १६ जिल्लामा भने सब बालबालिकालाई दादुरा–रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाउने सरकारको योजना छ । खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने ठूलो औजारका रूपमा लिइएको छ । बालबालिकामा अङ्गभङ्गता तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन् २००४ बाट हरेका चार वर्षमा अभियानकै रूपमा सञ्चालन गरिँदै आइएको छ । रासस

हिमेश पन्त बने पहिलो नेपाली कमेडी च्याम्पियन, हात पारे २५ लाख रूपैयाँ नगद र एक कार

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।  विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्। उनले २५ लाख रूपैयाँ नगद र एक कार हात पारेका छन् ।