कोरोना भाइरस: शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने सात उपाय

काठमाडाैं । कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्। कोरोनाभाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन् । स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्। शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ। १. सन्तुलित र पोषणयुक्त आहार पछिल्लो समयमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न मसलायुक्त परिकार, लसुन र कागती खानुपर्छ भन्ने चर्चा चलेको छ। उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा भए पनि तिनले भाइरस मार्ने वैज्ञानिक प्रमाण छैन । अहिले नयाँ-नयाँ परिकार बनाएर नियमितभन्दा धेरै परिमाणमा खाने गरेको देखिएको भन्दै पोषणविद् सुप्रिया भट्टराई त्यसले बेफाइदा हुने बताउँछिन् । हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षाका लागि चाहिने भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम रहेको उनको भनाइ छ । भिटामिन सी घुलनशील हुने भएकाले शरीरमा लामो समयसम्म नटिक्ने हुनाले फलफूल र सागसब्जी नियमित खानुपर्ने विज्ञहरूको सुझाव छ । २. नियमित शारीरिक अभ्यास प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ। हाम्रो छाला र छालामुनिको तहमा रहेका सूक्ष्मजीवले हानिकारक जीवाणुसँग लड्छन् । हानिकारक जीवाणु यदि हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन् । सेता रक्तकोषहरू कम चलायमान हुने हुनाले तिनलाई चलायमान बनाउन शारीरिक व्यायाम अत्यावश्यक हुने विज्ञहरू बताउँछन्। जनस्वास्थ्यविज्ञ डा. विश्वनाथ कोइराला भन्छन्, “सेता रक्तकोष शरीरका सैनिकजस्तै हुन् र तिनलाई नियमित रूपमा सक्रिय बनाउँदा प्रतिरक्षा प्रणाली पनि बलियो बन्दै जान्छ ।” शारीरिक अभ्यास गर्दा रक्तचापसँगै सेता रक्तकोषको गति पनि बढ्ने हुँदा रोगको प्रकृति अनुसार तिनीहरुले रोग लाग्नु पहिले नै सम्भावित सङ्क्रमणको पहिचान गर्ने उनले बताए । त्यसका अतिरिक्त शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम पनि केही बढ्ने हुनाले सङ्क्रमणसँग जुध्न तथा हानिकारक जीवाणुको वृद्धिलाई समेत नियन्त्रण गर्न सघाउने चिकित्सकहरूको भनाइ छ । ३. पर्याप्त विश्राम र निद्रा आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणालीमा सुधार गर्न पर्याप्त हुँदैनन्। शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञहरू बताउँछन्। डा.कोइरालाले भन्छन्, ‘शरीर सधै एउटै अवस्थामा नरहने र उमेर बढ्दै जाँदा रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउने हुनाले पर्याप्त आराम वा नियमित सुत्ने बानी बसाले प्रतिरक्षा प्रणाली पनि निकै मजबुत हुन्छ।’ त्यसका अतिरिक्त योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने विज्ञहरूको मान्यता छ। अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थलाई बाहिर निकाल्न निकै सहयोग पुग्छ। ४. धूमपान र मद्यपान नगर्ने जनस्वास्थ्यविज्ञ डा। अर्जुन कार्कीका अनुसार मदिरा र चुरोट सेवन गर्ने मानिसको तुलनामा नगर्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। उनी भन्छन्, ‘तपाईँले मदिरा वा चुरोट सेवन गर्नुहुन्छ भने तत्काल छाड्नुहोस् वा कम गर्दै जानुहोस्। त्यसो गर्नुभयो भने आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बन्दै गएको आफैँ अनुभव गर्न सकिन्छ।’ धूमपान र मद्यपान गर्ने मानिस र तीमध्ये पनि प्रौढ व्यक्तिमा धेरै सङ्क्रमक हुने सम्भावना धेरै हुने अध्ययनहरूले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरि चुरोट र सूर्तीजन्य पदार्थको सेवनका कारण सरदर ८० लाख मानिस र रक्सी सेवनका कारणले ३० लाख बढी मानिसको ज्यान जाने गरेको छ। ५. रचनात्मक बन्ने धेरै मानिस फुर्सद नभएकाले रचनात्मक बन्न नसकेको बताउँछन्। तर रचनात्मक वा सिर्जनात्मक बन्न सकेमा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास हुने डा. कोइरालाको भनाइ छ। चिकित्सकहरूका अनुसार सृजनात्मक कृयाकलापमा सहभागि हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपनाको भावना कम गर्दछ ।डा.कोइरालाले भन्छन्, ‘फुर्सदको समय छ भन्दै एकै ठाउँमा बसिरहने गर्दा निराशाजस्ता मानसिक रोगको विकास हुन्छ।’ बगैँचामा काम गर्ने, चित्र वा अन्य कला बनाउने, घर सजाउने वा कथाकविता लेख्ने लगायतका काम गर्न उनको सुझाव छ। ६. उच्च मनोबल डा. कोइरालाका अनुसार धेरै मानिस आफ्नो उच्च मनोबलका कारणले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास गरेको उदाहरणहरू प्रशस्त छन्। कोरोनाभाइरसले उमेरका हिसावले तुलनात्मक रूपमा वृद्धवृद्धाहरूको ठूलो सङ्ख्यामा ज्यान लिएको छ। तर केहीले भने उच्च मनोबलका कारण सङ्क्रमण भएरपनि त्यसमाथि विजयी प्राप्त गरेका घटना छन्। तीमध्ये एक बाग्लुङ नगरपालिकाकी मनकुमारी पौडेल हुन् जसले आफूमा उच्च मनोबल रहेका कारण कोरोनाभाइरसलाई पराजित गरेको बताएकी थिइन्। ७. रोग र खोप शरीरमा हुने हितकारी सूक्ष्मजीवले बाह्य आक्रमणकारी जीवाणुसँग सङ्घर्ष गरेर सङक्रमण हुन दिँदैनन्। तर श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, बाथ र मधुमेहजस्ता रोग लागेका व्यक्तिहरूमा भने यस्ता हितकारी जीवाणु तुलनात्मक रूपमा कम हुन्छन्। एन्टीबायोटिक खाएका मानिसमा हितकारी जीव पनि मर्छन्। तसर्थ पाका र दीर्घरोग भएका मानिसमा जोखिम बढी हुने हुनाले प्रतिरक्षा प्रणालीलाई सबल राख्न विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। त्यसका अतिरिक्त नियमित खोप लिँदा केही रोगसँग लड्ने क्षमता बलियो बनाउन सकिने डा. कार्कीको सुझाव छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न वा अपाङ्गताबाट बचाउन र गम्भीर रोग लाग्न नदिन बालबालिकालाई निर्धारित मात्रामा खोप दिने गरिन्छ। हाल नेपालमा भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस ‘बी’,धनुष्टङ्कार, निमोनिया, र दादुरा-रुबेला रोगबाट बचाउन खोप दिने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (बीबीसी न्यूज नेपालीबाट साभार)

ओखलढुङ्गाका छ मजदुर जुम्लामा अलपत्र

ओखलढुङ्गा । ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् । काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् । कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए । लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ । “हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन”, उनले भने, “स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।” अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए । राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उनको भनाइ छ । खिजीदेम्बाले करिब ७ सय नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ । रासस

कोरोना मिथ्या र सत्यताः ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ

काठमाडौं । हिजोआज कोरोना भाइरसलाई लिएर विभिन्न प्रकारका मिथ्याहरु चलिरहेका छन् । यसले सर्वसाधारणमा भ्रमको स्थिती सृजना गरेको छ । ती मिथ्याहरु के हुन् र त्यसको वास्तविकता के हो भन्ने वारेमा यहाँ केही उदाहरण प्रस्तुत गरिएको छ । बच्चाहरुका लागि भिटामीन–सी सप्लिमेन्ट प्रयोग गर्न होइन, त्यस्तो पटक्कै होइन । शरीरलाई जति भिटामिन–सी को आवश्यकता पर्छ, त्यसको पूर्ति हरेक दिनको सन्तुलित आहारबाटै प्राप्त हुन्छ । यदी शरीरमा भिटामीन–सी को कमी छ भने डक्टरले बताए अनुसार मात्र गर्नुहोस् । धेरै मात्रामा गरिएको भिटमीन–सी को प्रयोगले पाचनतन्त्र तथा किडनीमा नराम्रो असर पुर्याउन सक्छ । बच्चाहरुलाई कोरोना संक्रमण हुँदैन त्यसैले स्कुल खोल्दा यो कुरामा दुईमत छैन कि कोरोना भाइरसको असर बढि उमेरका मानिसहरुको तुलनामा बच्चालाई कम हुन्छ । तर, बच्चामा कोरोना भाइरसको संक्रमण देखिन सक्ने कुरालाई भने नकार्न चाहिँ सकिँदैन । बच्चाहरुले पनि सावधानी अपनाउन त्यतिनै जरुरी छ जति बढि उमेरका मानिसहरुले अपनाइरहेका छन् । त्यसैगरी, यदी कुनै एकजना बच्चामा यस्तो संक्रमण भयो भने पूरै स्कुलभरी फैलिनसक्ने भएकोले पनि अहिले स्कुल खोल्नु उपयुक्त हुँदैन । ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ यो सही हो कि दम, मधुमेह तथा फोक्सोसँग सम्बन्धित विरामीहरुलाई ल्वांगको तेलले राहत महसुस गराउँछ । यसमा म्यागनिज, फाइवर, भिटामीन–सी लगायतका करा प्रचूर मात्रामा पाइन्छ । यसले श्वास नलीलाई खोल्ने तथा व्याक्टेरियाका कारण हुने फोक्सोको संक्रमणमा फाइदा पुर्याउँछ । तर कोरोनाको सन्दर्भमा पनि ल्वांगको तेलले सकारात्मक नतिजा दिन्छ भन्ने कुराको हालसम्म पनि कुनै प्रमाण फेला परेको छैन । (हिन्दुस्तानडटकम बाट साभार)