स्वदेश फर्केका नेपाली हर्षित, आरडिटी किटको अभाव
बैतडी । एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् । कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । “विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ”, उनले भने “विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ ।” भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौं नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताए । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवादसमेत व्यक्त गरे । भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताए । उनले भने, “विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।” झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका ७ सय ९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए । क्वारेन्टाइन अनुगमनमा तीव्रता सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिन सबै ठाउँमा अनुगमन गर्न थालिएको हो । अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ ।” दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेका बताइएको छ । गत बिहीवार सीमानाका झुलाघाट हुँदै एक हजार २ सय ९९ नागरिक स्वदेश फर्किएका थिए । आरडिटी कीटको अभाव बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ । जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उहाँले बताउनुुभयो । जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५ सय ४८ को आरडिटी टेस्ट गरिएका छन् । यस्तै ४ सय ३० को स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो । जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।” एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ । वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । उनले भने, “वडाका प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ ।” टोलमै सामाजिक सुरक्षाभत्ता पाउँदा स्थानीय नागरिक पनि खुशी भएका छन् । रासस
आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली
काठमाडौं । आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आएका थिए । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताए । उनले भने, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।” कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि ती बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन् । सरकारी क्षेत्रबाट पाउने राहतसमेत निजहरुले पाउन सकेका छैनन् । घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताए । उनले भने, “गाउँमा खेतीपातीको ‘सिजन’ शुरु छ, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन् ।” गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृत्यु भएपछि बिचल्लीमा परेका ती बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने भएका छन । उनले भने “आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ र गर्नेछौं ।” भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि उहाँको अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले जानकारी दिए । घरमा ७५ वर्षीया हजुरआमा भए पनि राम्रोसँग हिँडडुल गर्न सक्ने नभएका कारण झनै समस्या भएको पीडित बालक कर्ण थापाले बताए । उनले भने, “भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने निकै समस्यामा छौँ ।” उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर रहेको बताइएको छ । खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए । हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ । आमाको मृत्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे । श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृत्यु भएको स्थानीयवासी बताउँछन् । आमाको मृत्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका निज बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन् । रासस
जुनारमा असिना र औँसा : किसानको आशामा निराशाको बादल
काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ । कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औंसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्को चिन्ताले अहिले किसानलाई सताएको छ । तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आउनुभएका लोकबहादुर आलेमगर भने, “अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको भारी असिनाले क्षणभरमै निराशामा बदल्यो, आधा चिचिला झा¥यो, टुट्टामा पार्यो, बाँकी फललाई पनि औँसाले खत्तम पार्ने हो कि भन्ने चिन्ता छ ।” जुनार खेतिका लागि अनुकूल हावापानी भएकाले सिन्धुलीको महाभार क्षेत्रलाई सरकारले चार वर्षअघि सुपर जोन घोषणा गरी जुनार उत्पादन क्षेत्र विस्तार र रोग नियन्त्रणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँको गोलञ्जोर गाउँपालिकाका रचनचुरा, जलकन्या, तिनकन्यालगायत क्षेत्र गुणस्तरीय जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यस क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि नर्सरी स्क्रिन हाउससमेत स्थापना गरिएको छ । कृषक मगरले १८ रोपनी क्षेत्रफलमा लगाइएका ५ सय बोट जुनारबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आए । परम्परागत खेती कोदो, फापर, गहुँ, जौ र आलुखेती गर्दै आएका त्यस क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा प्रवेश गरेसँगै जीवनस्तर उकास्न ठूलो योगदान पुर्याएको छ । त्यहाँको महाभारत इलाकाको सय किलोमिटर क्षेत्र जुनार, सुन्तला, कागती र निबुआका लागि उर्भरभूमि मानिन्छ । जुनारको एउटा बोटबाट एक हजारदेखि एक हजार ५ सयसम्म फल उत्पादन हुन्छ भने एउटा नर्सरी बिरुवालाई १ सय २५ मा बिक्री भइरहेको छ । सिन्धुली जिल्लाबाट मात्र वार्षिक २० करोड रुपैयाँ मूल्य बराबरको जुनार बिक्री हुँदैआएको छ । चिचिला मात्र होइन, हाँगैसमेत स्वोत्तर जिल्लाका चार हजारभन्दा बढी घरपरिवार अहिले व्यवसायी जुनारखेतीमा संलग्न छन् । किसानलाई बेलाबखतमा देखापर्ने विभिन्न रोग किराको प्रकोपबाट बोटबिरुवा र फल जोगाउने चिन्ताले भने सधैँ सताइरहन्छ । अरु अन्नबालीको तुलनामा सजिलो र बढी आम्दानी हुने तथा स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्न पाएकामा त्यसमा संलग्न किसान व्यवसायप्रति सन्तुष्टि व्यक्त गरे । जुनारका लागि वर्षमा दुई पटक मल हाल्नुपर्छ भने चारपटक औषधि छर्कनुपर्छ । मल प्रतिडोका सय रुपैयाँमा किनेर हाल्नुपरेको किसान बताउँछन् । किसानले रोग नियन्त्रणका लागि औषधिका किन्न अग्रिमरुपमा रकम जम्मा गरेर परियोजनालाई उपलब्ध गराउँदै आएका छन् । कृषि बीमा कार्यक्रम प्रभावकारी नभएका कारण पनि जुनार किसान मारमा परेका हुन् । जुनार र सुन्तलाको व्यवसाय खेती गर्दै आउनुभएकी कृषक देवकुमारी ठकुरी भने, “लगातार परेको असिनाले जुनारका चिचिला लग्यो, किसान निराश छ, हाँगैसमेत भाँचेर स्वोतर बनाएको छ, ठूलो समस्या भो, ३० वर्ष लगाएर हुर्काएर बोट खतम भए । हामी अहिले विचल्लीमा परेका छौँ ।” ठकुरीले पोहरसाल ११ लाख बराबरको जुनार सुन्तला बिक्री गरे । त्यस क्षेत्रका किसानले जुनारको गोडमेल, मल हाल्ने र टिप्ने कार्यमा संलग्न गराई स्थानीयवासीलाई ठूलो राजगारी प्रदान गर्दै आएका छन् । प्रकोप सिन्धुलीमा विषादी काठमाडौंमा “बाँकी फल पनि जोगाउन मुस्किल होला जस्तो छ, मुलुकमा लकडाउन छ, औंसा बगैँचामा सलबलाउन शुरु गरिसके, रोग किरा नियन्त्रण गर्ने औषधि काठमाडौँमा छ, यसको कसरी व्यवस्थापन गर्ने भन्ने किसानमा पिरलो परेको छ ” कृषक देवकुमारी ठकुरीले भने । बिजुको तुलनामा कलमी बोटको सुनौलो रङ्गको जुनार गुणस्तरीय मानिन्छ । रतनचुरा चिसापानीका योगेन्द्र थापाको बगैंचामा ६ सयसम्म जुनारको बोट छ । जिल्लामा वार्षिकरुपमा एक लाखभन्दा बढी मूल्यको जुनार बिक्री गर्ने किसानको सङ्ख्या हजारभन्दा बढी छ । जुनार सुपरजोन परियोजना प्रमुख देवराज अधिकारी भने, “यस वर्ष जुनारको फूल रामै्र फुलेको थियो, असिनाले ५० प्रतिशत साना दानामा क्षति पु¥याएको छ, बाँकी रहेकालाई बचाउन सकियो भने पनि ठूलै उपलब्धि हुन्छ ।” त्यस क्षेत्रमा किसानले सञ्चालन गरेका सहकारी कृषकको हितमा प्रभावकारी देखिएका छन् । त्यस्ता सहकारीमा आबद्ध हुने किसानको सङ्ख्या दुई हजारभन्दा बढी छ । औंसाले अघिल्ला वर्षमा ४० प्रतिशतसम्म क्षति पु¥याएकामा किरा नियन्त्रण कार्यक्रमपछि क्षति घटेर १५ प्रतिशतमा झरेको जानकारी दिँदै उनले भने, “किरा नियन्त्रणका लागि विषादी वैशाख अन्तिमभित्र छर्नुपर्छ, विषादि काठमाडौंबाट ल्याउन पहल र प्रयास गरिरहेका छौँ ।” सातसयदेखि बाह्रसय मिटरसम्मको हावापानीमा फस्टाउने जुनारखेती सिन्धुली, रामेछाप, उदयपुर, धनकुटा, भोजपुर र ओखलढुङ्गामा निकै राम्रो सम्भावना छ । पछिल्ला वर्षमा सिन्धुलीका जुनार काठमाडौँ र तराई जाने यात्रुका लागि कोसेली बनिरहेको छ । उद्योग त छ तर विडम्बना छ ! चीनले सिन्धुलीका उत्पादित जुनार निर्यात गर्न सम्झौता गरिरहेको छ । आन्तरिक बजार पनि राम्रो रहेको हुँदा मुलुकको आयात निर्यातबीच सन्तुलन कायम गर्न जुनार विकल्प बन्न सक्छ । त्यसका लागि जुनार खेतीको विकास र विस्तार गर्नुपर्ने विज्ञको सुझाव छ । जुनार उत्पादन कार्तिकदेखि फागुनसम्म हुने भए पनि मंसिर र पुस महिनाभित्र बढी उपयुक्त मानिन्छ । सिन्धुलीका जुनार जनकपुर, विराटनगर, पोखरा र काठमाडौँको अतिरिक्त भारतको विहारसम्म बिक्री हुँदै आएका छन् । त्यहाँका जुनार मौसमअनुसार, प्रतिकिलो ६० देखि १ सय ८० सम्म बिक्री हुने गरेको छ । जुनार भण्डारणका लागि सिन्धुलीमा ५ सय मेक्ट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ । अत्यन्त न्यून ज्यालामा मजदूरीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई स्वदेशमै रोजगारी दिन र फलफूलमा आत्मनिर्भर तुल्याउन जुनारको व्यावसायिक खेती विस्तार विकल्प हुन सक्छ । रासस