पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ पुन: सञ्चालनमा
टिस्टुङ । पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।
काठमाडौंमा थप कडाई: खुला स्थानमा भेला, भीडभाड गरे कारवाही हुने
काठमाडाैं । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गरेका हुन् । आदेश विपरीतका काम भएमा ऐन बमोजिम कारवाही गरिने जनाइएको छ । खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न निषेध गरिएको आदेशमा जनाइएको छ । यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ । फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय तथा कवाड सङ्कलन, उद्योग व्यवसायका लागि स्वास्थ्य मापदण्ड विपरीत कामदार ओसारपसार गर्न, टेक वे बाहेकका होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको प्रजिअ दाहालद्वारा जारी आदेशमा उल्लेख छ । आज बिहानदेखि लागू भएको उक्त आदेश आगामी भदौ १५ गतेसम्म जारी रहने जनाइएको छ । रासस
यी पत्रकार जसले सीआईबीको नाममा व्यापारीलाई ठग्न खोजे
काठमाडां । सीआईबीको नाममा ठगी गर्न खोज्ने एक जना पत्रकार पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पक्राउ गरेको हो । धादिङ्गकाे निलकण्ठ नगरपालिका वडा नं १४ घर भई हाल तारकेश्वर नपा. वडा नम्बर ११ नेपालटारमा डेरा लिई बस्ने र आफुलाई आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता भनी बताउने ३६ वर्षका शंकर प्रसाद अधिकारीलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ बसुन्धराबाट पक्राउ गरिएकाे सीआईबीले बताएकाे हाे । अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सि.आई.बि. मा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरले ५ लाख रुपैया दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ भनी डर त्रास देखाई धम्क्यार्ई सिआईबीकाे नाममा रकम असूल गरी ठगी गर्न खोज्ने उनलाई पक्राउ गरेकाे सीआईबीले बताएकाे हाे । उनले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुन सक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त महाराजगंजमा पठाइएको बताइएकाे छ ।