पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए । उनले भने “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए । यस संगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको वरालले जानकारी दिए ।

सिन्धुपाल्चोकमा भदाै १ गतेदेखि‌ एक साता लकडाउन

सिन्धुपाल्चाेक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो। यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ। लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।

भरतपुर अस्पतालका प्रमुखसहित ४ चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ । काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ । तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताएका छन् । उनले भने, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ ।” जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना संक्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताए । अस्पतालका संक्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिएका छन् । गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् । भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।