क्यानको कदमप्रति ईपिएलका टिम मालिकहरु असन्तुष्टि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) का टिम मालिकहरुले क्यानको कदमलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरुले फ्रेन्चाईज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता नपाउने देखिएको थियो । यसै सन्दर्भमा सोमबार पत्रकारसम्मेलन मार्फत नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए । क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए । उनले क्यान निलम्बित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै उनले क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकायहरु निराश भएको बताए । ‘क्यानले गरेको घोषणाबाट ईपीएल र यससँग सम्बन्धित सबै सरोकारवालाहरु पूर्ण रुपमा निराश र स्तब्ध छौं, ईपीएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि क्षमताले सकेसम्म नेपाली क्रिकेटलाई सहयोग गरेको थियाैं, यदी क्यानले हालै जारी गरेको निर्णय कार्यान्वायन गर्ने हाम्रो लागि वागमतीमा बग्ने भयो, त्यसबारेमा क्यानको ध्यान जानुपर्छ,’ उनले भने । क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाईज क्रिकेट ईपीएलको भविष्य शंकटमा देखिएको छ । जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रकमसमेत जोखिममा परेको छ । ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताएका हुन् । उनीहरुसँग सहमत हुँदै इपीएलका सञ्चालक आमिर अख्तरले आफूहरुलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा राखे । ‘क्यान आईसीसीको प्रतिवन्धमा भएका बेला हामीले सहजीकरण नगरेर ईपीएल नगरेको भए नेपाली क्रिकेट, खेलाडी कहाँ हुन्थ्यो ? कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला ? क्यानको यो निर्णयमा हामी निकै स्तब्ध भएका छौं,’ उनले भने । अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको बताए । उनले सञ्चालकहरु पीडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनी समेत दिए ।
एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने बताए । वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम सुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताए । शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा विज्ञानराज शर्मा, कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ हुन् । त्यसैगरी सदस्यमा दीपक थापा, प्रदीप यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीकाराम लामा, प्रदेशसिंह राठोर, भरतगुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशी हुन् । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।
एउटा संचारगृहबाट प्रकाशित आर्टिकलको संगालो अर्को प्रकाशकले किताब बनाएर बेच्न पाइन्छ ?
काठमाडौं । जेठ ८ गते अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक सार्वजनिक भयो । फाइन प्रिन्टले प्रकाशन गरेको सो पुस्तकको मूल्य हार्ड कभरको ५ सय ९८ रुपैयाँ थियो । काठमाडौंको बबरमहलमा रहेको कार्की व्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उषा झा र लेखक डा. वाग्लेले सो पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्ने कार्यक्रमसँगै ‘समसामयिक अर्थ राजनीतिक विमर्श’ पनि गरिएको थियो । सो विमर्शको संचालन सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले गरेका थिए । सो पुस्तकमा १९ वटा शीर्षकका लेख छन् । यस्तै, ६ वटा अन्तरवार्ता छन् । पुस्तक २६६ पृष्ठको छ । लेखहरु कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक, आर्थिक पत्रकारहरुको संस्था सेजनको स्मारिका, सेतोपाटी डटकम, बाह्रखरी डटकम, अनलाइनखबर डटकम, काठमाडौं प्रेस डटकम जस्ता संचारमाध्यममा पहिला नै प्रकाशन भएका र त्यहीबाट साभार गरिएको पुस्तकमै उल्लेख गरिएको छ । अन्तरवार्ताहरु पनि यस्तै गरी साभार गरिएका हुन् । तर, त्यस पुस्तकमा नयाँ केही पनि लेखिएको छैन । लेखक डा. वाग्लेले यसअघि नै सार्वजनिक संचारमाध्यममा लेखेका आर्टिकल साभार गरिएको छ । अन्तरवार्ता पनि विभिन्न संचारमाध्यममा प्रकाशित अन्तरवार्ताको संगालो मात्रै हो । ‘अतृप्त अवसर’मा लेखकले मात्रै होइन, भूमिका लेख्ने व्यक्तिले पनि एक शब्द समेत लेखेका छैनन् । पुस्तकमा भूमिका भनेर लेखिएको लेख नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नाममा छ । तर, भूमिका गगन थापाले नेपाली काँग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘हाम्रो ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाली’ नामक अर्थ राजनीतिक प्रस्तावको सम्पादित अंश राखिएको छ । पहिला प्रकाशन भएका आर्टिकलाई पुस्तकको रुपमा पुनः प्रकाशन गर्ने क्रम पछिल्लो समय बढ्दो मात्रामा छ । यसमा डा. वाग्ले पछिल्लो व्यक्तिका रुपमा जोडिन आइपुगेका मात्रै हुन् । पछिल्लो समय आएका धेरै पुस्तकहरु पहिला नै प्रकाशन भएका लेख रचनाहरुको संगालोको रुपमा आउन थालेका छन् । पहिला विभिन्न संचारमाध्यममा प्रकाशित आर्टिकलको संगालोलाई पुस्तकको रुपमा पुनः प्रकाशन गर्न पाइन्छ कि पाइदैन ? प्रकाशित आर्टिकलको कपिराइट लेखकसँग मात्रै हुन्छ कि सम्बन्धित संचारगृहसँग पनि हुन्छ ? हामीले यो प्रश्न नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका सूचना अधिकारी लालबहादुर बस्नेतसँग सोधेका थियौं । बस्नेतले संचार माध्यममा प्रकाशित लेख रचनाको अधिकार लेखक र सम्बन्धित संचारगृहसँग हुने बताए । ‘लेखकसँग नैतिक अधिकार हुन्छ, संचार माध्यमले पैसा तिरेर कुनै विषयमा आर्टिकल लेखाएको छ भने त्यही आर्टिकल फेरि पुस्तकको रुपमा प्रकाशन गर्न पहिला लेख प्रकाशित गर्ने संचारगृहको अनुमति पनि आवश्यक हुन सक्छ तर, यसमा लेखक र लेख रचना प्रकाशित गर्ने संचारगृहबीच भएको सम्झौता नै मुख्य हुन्छ,’ बस्नेतले विकासन्युजसँग भने । यस्ता विषयमा कार्यालयमा अहिलेसम्म कुनै विवाद नआएको र आएमा अदालतसम्म पुग्न सक्ने उनले बताए । यो विषयमा हामीले ३ जना सम्पादकहरुसँग पनि कुरा गरेका थियौं । हामीसँग कुरा गरेका तीनै जना सम्पादकले यो विषय लेखकको नैतिकता र इमान्दारितासँग बढी सम्बन्धित हुने बताए । ‘यस्ता विषय विवादको रुपमा अदालत प्रवेश गरेका छैनन्, गरे भने एक प्रकारले कानूनी निरुपण होला, संचारगृहले दिएको सामान्य पैसाको भरमा आफ्नो रचना फेरि आर्थिक प्रयोजनको लागि प्रयोग गर्न सर्जकले पाउने कि नपाउने भन्ने एउटा विषय भयो, संचारगृह र सर्जक सहमत भएपछि मात्रै पुस्तक प्रकाशन गर्ने परिपाटीमा गयौं भने समस्या हुँदैन होला,’ एक सम्पादकले भने । अर्का एक सम्पादक भने उपभोक्तामाथि अन्याय भएको बताउँछन् । ‘मैले लामो समय काम गरेको संचारगृहमा हजारभन्दा बढी आर्टिकल लेखेको छु होला, ती सबै आर्टिकल संकलन गरेर पुस्तक निकाल्न पाउने कि नपाउने ? आजकै एउटा कार्यक्रम गएर पुस्तक किनेर ल्याएका साथीहरु रिसाउँदै थिए, चर्चित व्यक्तिले चर्चित मिडियामा लेखेको लेख चासो हुनेले पढेकै हुन्छन्, त्यस्ता लेख मात्रै संकलन गरेर पुस्तकको रुपमा विक्री गर्दा उपभोक्ता ठगिएको भनेर साथीहरु भनिरहेका छन्,’ ती सम्पादकले भने । अर्का एक सम्पादक भने यो विषयमा बहस जरुरी भएको बताउँछन् । ‘आर्टिकल संकलन गरेर पुस्तकको रुपमा बजारमा ल्याउने विषय कति जायज हो भनेर त्यति विमर्श भएको छैन, यो विषयमा राम्रै बहस गर्नुपर्ने आवश्यकता देखिएको छ,’ ती सम्पादकले भने ।