भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

गण्डकी । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ । त्यस्तै भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिने भएको छ । भवन अभावले समस्यामा परेको यस अस्पतालको क्षमता विकासको कार्यले अस्पतालेका सेवा विस्तार र बिरामीको सेवा सहजीकरणमा टेवा पुग्ने अस्पतालले अपेक्षा लिएको छ । भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट विनियोजन गरेको छ। त्यसैगरि बजेटमा उल्लेख गरिएका ठूला परियोजनामध्ये भक्तपुरमा सबैभन्दा धेरै खानेपानी तथा सरसफाई क्षेत्रमा योजना समेटिएको छ । यस शीर्षकमा चार  योजना समेटिएका छन । काठमाडौँ उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गर्ने भएको छ । यसले भक्तपुरका बासिन्दाको खानेपानी, सिँचाइको आवश्यकतालाई पूरा गर्ने अभियानको सुरुआत भएको चाँगुनारायण नगरपालिकाकाले जनाएको छ ।  मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत भक्तपुर, थिमि, पेप्सिकोला क्षेत्रमा पाइपलाइन निर्माण गरिने तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माणाधीन भक्तपुरको दधिकोट खानेपानी आयोजना आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गर्नुले खानेपानीको अभावपूर्तिमा राहत पुग्ने विश्वास लिएको छ । राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरी भक्तपुरको कटुञ्जे ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने बजेटले व्यवस्था गरेको छ । हिंसापीडित महिलाको पुनःस्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मङ्गला–साहना पुनःस्थापना केन्द्र निर्माण गरिने बजेटले व्यवस्था गरेको छ । सडक पूर्वाधारतर्फ बजेटमा भक्तपुरको ठूलो परियोजनाअन्तर्गत यातायात पूर्वाधार शीर्षकमा सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छ । रासस

पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी कास्कीमा अग्लो शिवपञ्चायन मन्दिर निर्माण

गण्डकी । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब ९० लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ फिट अग्लो र पशुपतिनाथकै स्वरुपमा चारतर्फ नै ढोका राखिएको छ । यो कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर रहेको दाबी गरिएको छ । मन्दिरभित्र गणेश, सूर्य, देवी, शिव, विष्णुका मूर्तिका साथै रामसीता, राधाकृष्ण भगवानका मूर्ति स्थापना गरिएको छ । मन्दिरलाई पोखराको विशष्टि धार्मिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ दर्शनार्थीले सेती नदीको जलले स्नान गर्नसक्ने गरी १०८ धारा, यज्ञकुण्ड आदि स्थापना गरिने उनले जानकारी दिए । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको समयमा २०७५ सालमा मन्त्रालयबाट १५ लाख रुपैयाँ प्राप्त गरी सुरु गरिएको मन्दिरको निर्माणमा गोशली हाउसबाट १० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट तीन चरणमा गरी १५ लाख रुपैयाँ र अन्य विभिन्न सहयोगदाताको सहयोगमा निर्माण गरिएको हो । आगामी दिनमा मन्दिरमा भक्तजनबाट प्राप्त हुने दान तथा सहयोग यसको संरक्षण र विकाससँगै गुरुकुलको दिगो सञ्चालनका लागि उपयोग गरिने अध्यक्ष अधिकारीले बताए । विसं १९५८ मा राजकीय भाषा पाठशालाका रुपमा स्थापित गण्डकी क्षेत्रकै पुरानो यस विद्यालयमा हाल दुई सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद सिग्देलले जानकारी दिए । जसमध्ये ३३ जना विद्यार्थीले गुरुकुलका रुपमा आवाशीय अध्ययन गरिरहेका छन् । नवनिर्मित मन्दिरको यही जेठ १९ गते भव्य समारोहका बीच समुद्घाटन एवं मूर्तिको प्राणप्रतिष्ठा गर्ने तयारी भइरहेको प्रचारप्रसार उपसमितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिए । रासस

आयुर्वेदिक औषधिको काम गर्ने तुलसीको दल मठमा राखियो

काठमाडौं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरका मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । भगवान् विष्ण क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्नु नहुने शास्त्रीय विधि छ । यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आजका दिन सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । पानी पनि नपिई गरिने एकादशी व्रत भएकाले आजको एकादशीलाई निर्जला एकादशी भनिएको हो । आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजा आराधना गर्ने परम्परा बसालेको जनाइएको छ । रासस