माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनार्थ मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरणको प्रस्ताव पारित गर्न आगामी पुस ८ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ ।
बुधबार १३.४० अंकले बढ्यो सेयर बजार
काठमाडौं । बुधबार १३.४० अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९११.२६ विन्दुमा पुगको छ । बुधबार केही अंकले सेयर बजार बढ्दा सबैभन्दा बढी सिक्लेस हाइड्रोपावरले कमाएको छ भने सबैभन्दा बढी गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार हुनेमा रिदी पावर कम्पनी रहेको छ । कम्पनीको बुधबार ६० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार २४ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख रुपैयाँका कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीको संख्या बढ्दो, तीन महिनामै थपिए पौने ८१ अर्बको धितोपत्र
काठमाडौं । पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीको संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत २०७८ असोजमा २२२ वटा सूचीकृत भएकोमा २०७९ असोजमा बढेर २४२ वटा कम्पनी नेप्सेमा सूचीकृत भएका हुन् । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २२२ रहेको थियो । २०७८ असोज मसान्तमा २६५७ रहेको नेप्से सूचकाङ्क २०७९ असोज मसान्तमा १८५८.३ कायम भएको छ । २०७९ असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रहेको छ । २०७८ असोज मसान्तमा बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ । नेप्सेमा २०७९ असोजसम्ममा सूचीकृत ६ अर्ब ८२ करोड कित्ता सेयरको चुक्ता मूल्य ६ खर्ब ७२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तीन महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९ अर्ब २९ करोड रुपैयाँ बराबरको बोनस शेयर, ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३ अर्ब २७ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ८० अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ३९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।