मौद्रिक नीतिको प्रभावले सेयर बजारमा उछाल, नेप्से ६३ अंकले बढ्यो

काठमाडौं । आइतबार नेप्से सूचक ६३ अंकले बढेको छ । साताको पहिलो दिने नेप्से बढेर बन्द भएको हो । आइतबार नै र राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभाव पनि सेयर बजारमा देखिएको छ । आइतबार ४ अर्ब ३७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भनिएपछि त्यसको सकरात्मक प्रभाव सेयर बजारमा देखिएको छ । सेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत छ । लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका छन् । राष्ट्र बैंक यो व्यवस्था पुनरावलोकनको लागि तयार भएको छ । आइतबारको बजारमा नेप्से परिसूचक समग्रमा ६३.२४ अंक बढेर २२ सय २७.२४ विन्दुमा पुगेको छ । आइतबार २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । आइतबारको कारोबारबाट १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ । विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

भगवती हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन, स्थानीयलाई समय लम्बियो

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको हो । कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह

काठमाडौं । नबिल बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले (साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेत)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो । बैंकका अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्मको नगद लाभांश केही सेयरधनीहरुले भुक्तानी लिन बाँकी रहेकाले लैजान आग्रह गरेको हो । सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । बैंकले एक महिनाभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।