काठमाडौं । सन सेक्युरिटिज प्रालिले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने निःशुल्क सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंभित्र तथा बाहिर, साथै नेपालबाहिर रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो । तालिम गुगल मिटमार्फत अनलाइन सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार तालिममा सेयर बजारको आधारभूत विश्लेषण, संस्थागत तथा फन्ड म्यानेजरले सेयर छनोट गर्ने विधि, मार्जिन कारोबारको प्रयोग र जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध लगानीका वित्तीय साधन, म्युचुअल फन्ड र मल्टिब्यागर सेयर पहिचान गर्ने तरिका, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तथा क्यान्डल, चार्ट, ट्रेन्ड र विभिन्न इन्डिकेटरसहितको प्राविधिक विश्लेषणका विषय समेटिनेछन् ।
यस्तै, वर्तमान बजार परिस्थितिमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल गरिने कम्पनीले जनाएको छ। यसका लागि विश्लेषक अभिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्तले सहजीकरण गर्नेछन् ।
तालिम हरेक दिन साँझ ७ः३० बजेदेखि ९ बजेसम्म गुगल मिटमार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।