लक्ष्मी क्यापिटलको भ्यालु फण्ड २ आजदेखि बिक्री खुला
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आज साउन ५ गतेदेखि लक्ष्मी भ्यालु फण्ड २ निष्काशन तथा बिक्री खुुला गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्ड १० वर्ष अवधिको हो । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा इकाईधनीहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन सक्ने छन् । सो फण्डको इकाईमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीको फण्डमा इकाईधनीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
२५ हजार कित्ता खरिद गर्न मिल्ने अप्पर लोहोरेको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ७ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता अति प्रभावित क्षेत्र नौमुले गाँपालिका ३ र ५० प्रतिशत सेयर २ लाख ५४ हजार ९०२ कित्ता दैलेख जिल्लाबासीहरुले आहवृदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्ने नेप्सेको निर्णय गलत
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्ने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को निर्णय गलत देखिएको छ । इन्स्योरेन्सले प्रकृयाअनुसार नै हकप्रद सेयर जारी गर्ने निर्णय गर्दा गर्दै पनि नेप्सेले उक्त निर्णय कानुनविपरित रहेको भन्दै कारोबार रोक्ने निर्णय गरेको पाइएको छ। नेप्सेको साउन ४ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले प्रभु इन्स्योरेन्सले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना नेप्सेलाई ढिला जानकारी गराएको भन्दै कम्पनीको कारोबार रोक्ने निर्णय गरेको छ । साथै, नेप्सेले यो विषयमा कम्पनीलाई तीन दिने स्पष्टीकरण समेत सोधेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले भने प्रकृया अनुसार अर्थात सभाले दिएको अख्तियारी अनुरुप नै हकप्रद सेयर जारी गर्ने निर्णयलाई अघि बढाएको छ । कम्पनीको २०७९ फागुन २३ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको थियो । इन्स्योरेन्सले उक्त सभामा कुनै कम्पनीसँग मर्जरमा जान नसकेमा नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउनको आवश्यक मात्रमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाबाट उक्त प्रस्ताव पारित पनि भएको छ । इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभामा पेश भएको विशेष प्रस्तावको ३ नम्बर बुँदा ‘यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्वन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न चलअचल सम्पत्ति र दायित्व मुल्याङ्गन गर्नको लागि मान्यता प्राप्त मुल्यानकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यदि कुनै निर्जीवन बीमा कम्पनीसंग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी कार्य सफल हुन नसकेमा नियमनकारी निकायले निर्धारण गरेको चुक्ता पूँजी कायम गर्न सम्बन्धित निकायबाट स्वीकृती लिई आवश्यक मात्रामा हकप्रद शेयर निष्काशन गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,’ इन्स्योरेन्सले सभामा पेश गरेको विशेष प्रस्तावको ३ नम्बर बुँदामा भनिएको छ । साधारणसभाको निर्णय पुस्तिकाको ४ नम्बरमा स्पष्ट रुपमा निर्णय पनि भएको छ । साधरणसभाको निर्णय अनुसार नै २०८० असार २७ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको २२६औं बैठकले कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्यो । जुन निर्णय स्वीकृतिको लागि हालै नेपाल बीमा प्राधिकरणमा पेश गरेको हो । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्रचार्य आफू प्रकृयाअनुसार नै अघि बढ्दा पनि नेप्सेले कारोबार रोक्ने निर्णय गर्नु र तीन दिने स्पष्टिकरण सोध्नुले आफू आश्चर्यचकित भएको बताए । ‘हामी प्रकृया अनुसार नै अघि बढेका छौं, सभाले पारित गरेको प्रस्तावलाई पूर्वस्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाइएको हो,’ उनले विकासन्युजसँग भने- ‘अब प्राधिकरणबाट पूर्व स्वीकृति आएपछि मात्र हकप्रद सेयर जारी गर्ने प्रकृयालाई अघि बढाउँछौं, हामीले कुनै गलत गरेका छैनौं ।’ यता पुँजी बजार सञ्चालक नेप्सेले भने कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना ढिला जानकारी गराएको भन्दै सेयर कारोबार रोक्ने निर्णय गरेको छ । यसले नेप्से आफै अपडेट नभएको भन्ने बुझिन्छ । हकप्रद सेयर निष्कासन प्रस्ताव गरेपछि कम्पनीको सेयर मूल्य भने विहीबार घटेको छ ।