काठमाडौं । सञ्चालनमा आएको पहिलो वर्षमै मनोकामना क्यापिटल इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडले ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालनमा आएको कम्पनीले उक्त आम्दानी गरेको हो ।
वि.सं. २०८१ साउनमा स्थापित मनोकामना क्यापिटल, मनोकामना ग्रुपअन्तर्गतको कम्पनी हो । कम्पनीले दोस्रो बजारमा विभिन्न संस्थाका सूचीकृत सेयर तथा अन्य धितोपत्रहरूको कारोबार गर्दै आएको छ । कम्पनीका अनुसार प्राथमिकता प्राप्त क्षेत्रहरूमा पुँजी परिचालन गर्दै आर्थिक वृद्धिमा योगदान पुर्याउने, रूपान्तरणकारी परियोजनालाई सहयोग गर्ने तथा लगानीको दायरा विस्तार गर्ने यसको लक्ष्य रहेको छ ।
मनोकामना समूहसँग हेभी निर्माण उपकरण, पूर्वाधार विकास तथा व्यापार क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको र नेपालको पुँजी बजारमा सेयर कारोबार तथा लगानीको करिब ३० वर्षको अनुभव रहेको दाबी गरिएको छ ।
समीक्षा अवधिमा कम्पनीको ब्याज, मूल्यह्रास तथा करअघिको सञ्चालन नाफा मार्जिन २.५८ प्रतिशत रहेको छ । कम्पनीले १२ करोड २० लाख रुपैयाँ नाफा आर्जन गर्दा १० करोड ८० लाख रुपैयाँ ब्याज खर्च व्यहोरेको जनाएको छ । यस आधारमा कम्पनीको ब्याज भुक्तानी क्षमता १.१३ गुणा रहेको देखिन्छ ।
त्यसैगरी, कम्पनीको करपछिको नाफा मार्जिन ०.३ प्रतिशत रहेको छ भने ग्रस क्यास एक्रुअल १ करोड ४० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । छोटो सञ्चालन अवधिका बाबजुद कम्पनीले मध्यम स्तरको नाफा आर्जन गरे पनि उच्च ब्याज खर्चका कारण नाफा मार्जिन सीमित रहेको देखिएको छ ।
कम्पनीले आफ्ना लगानी सञ्चालन गर्न मुख्य रूपमा अल्पकालीन कर्जामा निर्भर रहेकाले ऋणको भार उच्च रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ करोड ५३ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ८५ करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कर्जा लिएको छ। यसअघि कम्पनीले २ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
कम्पनीका अनुसार पुँजी बजारमा गैर-वित्तीय क्षेत्रका कम्पनीहरूको सहभागिता बढ्दै जाँदा लगानीका अवसर विस्तार हुनुका साथै जोखिम विविधीकरणमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । त्यसैले बजारको अस्थिरताबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्दै सन्तुलित प्रतिफल हासिल गर्न लगानी पोर्टफोलियोलाई थप विविधीकृत गर्ने योजना कम्पनीले बनाएको छ ।
कम्पनीले लिएको कर्जा परिवर्तनशील (फ्लोटिङ) ब्याजदर प्रणालीमा आधारित भएकाले ब्याजदरको उतारचढावको जोखिम रहेको जनाएको छ । कम्पनीले तिर्नुपर्ने ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूको मासिक आधारदर (बेस रेट) मा निश्चित प्रिमियम थपेर निर्धारण हुने व्यवस्था छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरूको आधारदर प्रणाली उपलब्ध तरलताको अवस्थाअनुसार बारम्बार परिवर्तन हुने भएकाले ब्याजदरमा पनि नियमित उतारचढाव हुने कम्पनीको भनाइ छ। यस कारण भविष्यमा ब्याजदर वृद्धि भए कम्पनीको ब्याज खर्च बढ्ने, नाफामा दबाब पर्ने तथा नगद प्रवाह र तरलता व्यवस्थापनमा समेत असर पर्न सक्ने देखिन्छ । त्यसैले परिवर्तनशील ब्याजदरमा आधारित वित्तीय स्रोतका कारण ब्याजदर जोखिमलाई आगामी दिनमा सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको कम्पनीले औंल्याएको छ ।
पुँजी बजार मुख्य रूपमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारका नीतिबाट प्रभावित हुने भएकाले कम्पनीको वित्तीय अवस्था र भविष्यका सम्भावना पनि यिनै निकायका नीतिगत निर्णयसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । विशेषगरी पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स), सेयर कारोबार कमिसन, ब्याजदर तथा बजारसँग सम्बन्धित अन्य नीतिमा हुने परिवर्तनले लगानीकर्ताको मनोविज्ञान, लगानी वातावरण, बजारमा उपलब्ध तरलता तथा बजारको गहिराइमा असर पार्न सक्ने कम्पनीको भनाइ छ ।