हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँमा आईपीओ बिक्री खुला, कति कित्ता भर्ने ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ करोड ४६ लाख २५ हजार रुपैयाँको २ लाख ९२ हजार ५ सय कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । यस्तै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता र २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
सेयर बजारमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता शेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह २९ दशमलव ६६, विकास बैंक समूह ४९ दशमलव १५, उत्पादन तथा प्रशोधन समूह ६६ दशमलव २२, म्युचुअल फन्ड शून्य दशमलव ०४ र व्यापार समूह एक सय २८ दशमलव ७८ अङ्कले बढेको छ । बाँकी अरु समूहको उपसूचक भने घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४८ दशमलव ७६ अङ्कले घटेको छ । त्यस्तै, वित्त १८ दशमलव ६४, होटल तथा पर्यटन ३७ दशमलव ६५, जलविद्युत् १९ दशमलव ६८, लगानी शून्य दशमलव २६, जीवन बीमा समूह ४८ दशमलव ७६, लघुवित्त २० दशमलव ८३, निर्जीवन बीमा एक दशमलव ८९ र अन्य समूह १५ दशमलव ११ अङ्कले घटेको छ । आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य नौ दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ५३ हजार नौ सय सात कित्ता सेयर किनबेच भएको छ ।
बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफीले बढायो हकप्रद सेयरको आकार
काठमाडौं । बैंकको ऋण तिर्न रकम अपुग भएपछि बलेफी हाइड्रोपावरले हकप्रद सेयरको अनुपात बढाएको छ । कम्पनीले यसअघि घोषणा गरेको हकप्रद सेयरले बैंकको ऋण तिर्न अपुग हुने भएपछि हकप्रद संशोधन गरेको हो । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर संशोधन गर्दै चुक्ता पूँजीको १ सय प्रतिशत पुर्याएको हो । अब कम्पनीको १ सय कित्ता सेयर हुने लगानीकर्ताले १ सय कित्ता सेयर लगानी गर्न पाउने छन् । कम्पजीले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् बिक्री प्रक्रिया अघि बढाउने छ । यसअघि कम्पनीले चुक्ता पूँजी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने बताएको थियो ।