आँखुखोला जलविद्युतले हकप्रद निष्काशन गर्ने, ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई नियुक्त गरेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका हुन् । आँखुखोला जलविद्युत कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशन गर्नेछ । काठमाडोंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

नागरिक स्टक डिलरले बैंकमा १८ करोड लगानी गर्दै

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरेर प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका अनुसार ७ दिन भित्र आवेदन पेश गर्नु पर्नेछ ।

२०६ रुपैयाँमा माण्डु हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयको समय थपियो

काठमाडौं । माण्डु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७७ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीले जारी पूँजीको मध्ये २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र ललितपुरको बागमति गाउँपालिका १ र २, मकवानपुरको भिमफेदी गाउँपालिका ५, ६, ७ र ८ र इन्द्रासरोवर गाउँपालिकाको ३ स्थानीय बासिन्दाहरुलाई छुट्याईएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्राइम बैंकको भीमफेदी, हेटौडा शाखा, कुमारी बैंकको बागमती शाखा, प्रभु बैंकको हेटौडा शाखा र आवश्यकता अनुसार अन्य संकलन केन्द्र पनि थप गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।