तेह्रथुम पावरले हकप्रद सेयर ब्रिक्री गर्ने, ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । तेह्रथुम पावरको सञ्चालक समितिको निर्णय बमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद सेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो । यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ । तेहूथुम पावरले आफ्ना शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको छ । सम्झौतामा नबिल इन्भेस्टमेन्टले तेह्रथुम पावरको सर्वसाधारणमा हकप्रद शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ ।
कति कर्जा लिँदा जोखिम भार एक सय प्रतिशत लागू हुन्छ ? यसो भन्छ राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न प्रकृतिका कर्जाहरूमा लागू हुने जोखिम भारलाई स्पष्ट पारेको छ । सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई राष्ट्र बैंकले स्पष्ट पारेको हो । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जामा १ सय प्रतिशत जोखिम भार लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार लागू थियो । साथै, २५ लाख रुपैयाँसम्मको गाडी कर्जामा १ सय प्रतिशत जोखिम भार लागू गर्न राष्ट्र बैंकले निर्देश गरेको हो । त्यस्तै, नेपाल सरकारको स्वीकृति लिएर कार्य गरिरहेका आवासीय कम्पनीले २५ लाखसम्म कर्जा लिए भने १ सय प्रतिशत जोखिम भार कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने भनेको थियो ।
एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा
काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा गरिएको छ । एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९÷७० का नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल सहभागिता फण्का इकाइधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाइधनीहरुले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने छन् । यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ ।