अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम
काठमाडौं । प्रभु क्यापिटलले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अपांगता संरक्षण नेपालअन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिङ एसोसिएट् विनय अधिकारीले गरेका थिए । कार्यक्रम पुँजीबजारमा सुरुआती प्रवेश के–कसरी गर्ने ? मेरो सेयर के–कसरी चलाउने ? सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सञ्चालन गरिएको हो । शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपांगता भएका ‘क’ तथा ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिए । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट, २१ सय अंकमा झर्याे
काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से सूचक २६.१४ अंकले घटेर २२ सय अंकमा बन्द भएको हो । कारोबारको सुरुवाती समयमा केही अंक बजार बढेको भएपनि अन्तिम समयमा भने पूँजी बजार घटेको नेप्सेले जनाएको छ । आइतबार १८९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार ३२७ पटक खरिद बिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार अवधिमा शिवम् सिमेन्टको सेयर सर्वाधिक १४ करोड ७८ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेमा रहेका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा राताम्य छाएको छ । जसमध्ये होटल तथा पर्यटन समूह, फाइनान्स समूह र ट्रेडिङ्ग समूहको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साउन ७ गते आइतबारदेखि साउन १२ गते शुक्रबारसम्म नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९.११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस बापत ६ लाख ५५ हजार ८६२.८६२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।