सेयर बजार २८.५९ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ । बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावरको सेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ ।
टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्यो फुडमाण्डुको आशिंक सेयर
काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी जस्ता नाफामूलक क्षेत्रहरूमा विविधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो । फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको बताइएको छ । झण्डै दुई वर्षको अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ । सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्री/वितरण गर्ने) कम्पनीको रूपमा कार्य गर्दै आएको छ। हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंक हो । हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।
आइपीओ निष्काशन गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीले आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् । कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।