सानिमा सेक्यूरिटीजले सदस्यता पाएको एक महिनामा शुरु गर्यो कारोबार
काठमाडौं । सानिमा सेक्यूरिटीज अर्थात ब्रोकर नं. ८३ ले असोज २९ गतेदेखि आफ्नो कारोबार शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीजका सञ्चालकहरुले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए । सानिमा सेक्यूरिटीजले २०८० साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र २०८० भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।
स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, १७ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ । यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ । साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै, सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् । साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणी शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।
थामिएन सेयर बजारको पहिरो, परिसूचक र कारोबार दुबै घट्यो
काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन एक अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने एक अर्ब २५ करोड रुपैयाँमा खुम्चिएको छ । सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर बिक्री भएको छ । बैंकको एकैदिन ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता १०८ रुपैयाँ छ । घटेको बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । जसको सेयर मूल्य ७.८७ प्रतिशतले बढेको हो । यता १० प्रतिशतले सेयर मूल्य घट्नेमा दुई कम्पनी छन् । सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कूल १३ वटा समूहमध्ये जीवन बीमा समूह नै सबैभन्दा बढी अर्थात २०७.९१ अंकले घटेको छ ।