सजिलो ब्रोकर कम्पनी सञ्चालनमा

काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले सोमबार ब्राेकर सदस्यता  पाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा स्टक ब्रोकर नम्बर ९० को असोज २९ गते सदस्यता प्रदान गरेको हो । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनी स्थापना र ब्रोकर लाइसेन्स दिने प्रक्रियामा सहयोग गरेको भन्दै कम्पनीले नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्चेन्ज, सेयरधनी लगायतमा आभार व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको हो ।

मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २५ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आज असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सानिमा सेक्यूरिटीजले सदस्यता पाएको एक महिनामा शुरु गर्यो कारोबार

काठमाडौं । सानिमा सेक्यूरिटीज अर्थात ब्रोकर नं. ८३ ले असोज २९ गतेदेखि आफ्नो कारोबार शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीजका सञ्चालकहरुले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए । सानिमा सेक्यूरिटीजले २०८० साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र २०८० भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।