एनआईसी एशियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया क्यािपटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले आर्थिक वर्ष २०७९/८०को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनआईसी एशिया ग्रोथ फन्डले इकाइधनीहरुलाई १०.५० प्रतिशतका दरले ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फन्डले इकाइधनीहरुलाई १० प्रतिशतका दरले ७ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत अर्थात् प्रतिसेयर १५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् । कम्पनीले मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मङ्सिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।

१ सय रुपैयाँमै मल्टीपर्पस फाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आज असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।