आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख ३० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए ।
लिबर्टी माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त सेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएकाे छ । आईपीओ निष्कासनसम्बन्धि कार्यका लागि गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ कराेड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।