लाभांश पारित गर्न सेयरधनीलाई हाथवे इन्भेष्टमेन्टले बोलायो कात्तिक २५ गते
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले कात्तिक २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा डाकेको हो । कम्पनीको सभाले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशतका दरले १२ करोड ८७ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले ६७ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ पुग्नेछ । सोही बमोजिम कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीको संसोधन स्वीकृत गर्ने र नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ । संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियूक्तीलाई अनुमोदन गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ६ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
न्यादी हाइड्रोको २ लाख कित्ता सेयर बेच्दै अल नेपाल इन्फ्रास्ट्रक्चर
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर बिक्रीमा राखिएको छ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको १ लाख ९८ हजार ५४७ कित्ता सेयर वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गरिनेछ । विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको सेयर सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका २०७८ को निर्देशन नम्बर ११ अन्तगर्तको सर्वसाधारणलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।
पाँच अर्ब डिल विवादले सेबोन अध्यक्ष नियुक्तिमा ढिलाइ-प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिको क्रममा पाँच अर्ब रुपैयाँको डिल भएको भन्ने विषयमा उत्पन्न विवादकै कारण उक्त पदमा नियुक्तिमा ढिलाइ भएको बताएका छन् । उक्त डिलमा आफ्नो संलग्नता नभएको समेत उनले सार्वजनिक रूपमा प्रष्टिकरण दिएका छन् । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पाँच अर्ब रुपैयाँ’ एउटा पत्रिकाले समाचार छाप्यो । जुन पत्रिका त्यतिबेलाका प्रधानमन्त्री (पुष्पकमल दाहाल-प्रचण्ड) र अर्थमन्त्री (वर्षामान पुन) नजिकको हो । पत्रिकाको नाम मैले भन्नु परेन । लेख्ने साथीहरू सायद यही हुनुहुन्छ होला, ’ मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हाम्रो पार्टी त्यतिबेला सरकारमा भए पनि निणर्य गर्ने ठाउँमा थिएन ।’ उनले हरेक निर्णयमा कमिशन खोज्ने, हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा नलिन आग्रह गरेकाे बताए । प्रधानमन्त्री ओलीले भने, ‘मैले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा प्रयोग नगरौं । देशको अवस्था नाजुक छ । हरेक निर्णयमा कमिशन खोज्ने, पैसा लिएर नियुक्ति गर्ने, पैसा लिएर सरुवा गर्ने, पैसा लिएर बढुवा गर्ने, कमिशन लिएर ठेक्का दिने, कमिशनका भरमा खेलबाड गर्ने काम नगरौं भनेको थिएँ । त्यो भनेपछि उहाँहरू किन झस्किनु भयो? भोलिपल्ट पाँच अर्ब खाने भयो भनेर समाचार छापियो । पाँच अर्ब मलाई कसले ल्याएर दिन्छ ? किन दिन्छ ?’ उनले आफू कमिशनकाे लागि काम गर्ने व्यक्ति नभएकाे पनि बताए । ‘म कमिशनको लागि काम गर्ने होइन । कमिशन रोक्ने मान्छे हुँ । भ्रष्टाचार गर्ने मान्छे होइन, रोक्ने मान्छे हुँ । तपाईंहरूले के छपाउनु भयो ? उहाँहरू (प्रचण्ड-पुन)ले छपाएको होइन भन्नु भयो, ’ अध्यक्ष ओलीले भने । उनले थपे, ‘यसमा पाँच अर्बको डिल होलाजस्तो पनि लाग्दैन । अर्को कुरा कर्मचारीले नियुक्ति खान पाँच अर्ब कहाँबाट ल्याएर देओस् ?’ नेपाल धितोपत्र बोर्डका अध्यक्षका आकांक्षीमध्ये एक सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन लबिङ गर्दै नेपालको ठूलो व्यावसायिक घराना शंकर ग्रुपले केपी शर्मा ओलीलाई मोटो रकम बुझाएको आरोप लाग्दै आएको छ । आफूमाथि लागेको आरोपको विरोध गरेपछि उहाँहरू (प्रचण्ड र पुन) छट्टाउन थालेको ओलीले बताए । मूलतः यही विषयमा विवाद चुलिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दालाल (प्रचण्ड)ले नेतृत्वको सरकारसँगको सहकार्य छोडेर नेकपा एमालेले नेपाली कांग्रेससँगको सहकार्यमा नयाँ सरकार बनाएको विश्लेषण त्यतिबेला नै भएकाे बताएका थिए । सर्वोच्च अदालतले नै पुरानै प्रक्रिया अगाडि बढाउनु भनेकोले वर्तमान सरकारले सोही प्रक्रियालाई अगाडि बढाएको पनि प्रधानमन्त्री ओलीले बताए । धितोपत्र बोर्डको अध्यक्ष पद विगत ९ महिनादेखि रिक्त रहेको छ । सेबोन अध्यक्षको छनाेट प्रक्रियामा चलखेलको आशंका !