कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ । उक्त वार्षिक साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

बजार ४३ अंकले बढ्यो, एक हाईड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट

काठमाडाैँ । आज बुधबार सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले वृद्धि भएर २ हजार ७ सय ४२.८८ बिन्दुमा रोकिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेचबाट ५ अर्ब ६६ करोड बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ९ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४ लाख, एनआईसी एशिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाईड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको १३ करोड १३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका २०५ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तिय संस्था, इस्टर्न हाईड्रोपावर, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च बढोत्तरी आएको छ । यसैगरी, अपर स्यानजे हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । ट्रेडिङ उपसूचक ३.४४ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक १.९८ प्रतिशतले वृद्धि भएको छ ।

लिवर्टी ईनर्जीले हकप्रद निष्काशनका लागि स्विकृति पायो

काठमाडाैँ। लिवर्टी ईनर्जी कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनका लागि बोर्डबाट स्विकृति पाएको जनाएको छ । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको हो । हाल कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद सेयर विक्रीबाट ७५ करोड रुपैयाँ प्राप्त भएसँगै कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब २५ करोड पुग्ने छ ।