२ बीमा कम्पनीबाट संस्थापक बाहिरिँदै, आईजीआई प्रुडेन्सियलका तीन जनाले बिक्रीमा राखे सेयर
काठमाडाैँ । दुई निर्जीवन बीमा कम्पनीको ७ लाख १८ हजार ४५ कित्ता संस्थापक सेयर विक्रीमा राखिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर विक्रीमा राखिएको हाे । कम्पनीहरुले बिहिबार एक सूचना जारी गर्दै संस्थापक राखिएको उक्त सेयर विक्रीमा राखेको जानकारी दिएका हुन् । छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट ३ जना संस्थापक लगानीकता बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु कुमार पौडेल, सुमन पोखरेल र अन्जन भण्डारीले सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । उनीहरुले जम्मा ३ लाख ४४ हजार कित्ता सेयर विक्री गर्ने भएका हुन् । जसमध्ये पौडेलले २ लाख ५० हजार, पोखरलेले ८० हजार र भण्डारीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, यूनाईटेड अजोड इन्स्योरेन्सको ३ लाख ७४ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले आईजे ग्रुपको स्वामित्वमा रहेको उक्त सेयर विक्रीमा रहेको जनाएको छ । कम्पनीमा उक्त ग्रुपको १४ लाख ५० हजार २३७ कित्ता सेयर रहेको छ । तर, कम्पनीले ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हाे । बिक्री गर्न लागिएको उक्त सेयरको मूल्य प्रति कित्ता न्यूनतम ३ सय रुपैयाँ तोकिएको छ ।
दशैंअघिको अन्तिम कारोबारको दिन नेप्से ४.८५ अंकले बढ्यो
काठमाडौं । दशैंअघिको अन्तिम कारोबारको दिन आज (बुधबार) सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । आज ४.८५ अंकले बढेर बजार २ हजार ६६८.१७ बिन्दुमा बन्द भएको छ । आज ८३ लाख १२ हजार ६८५ कित्ता सेयर खरिद बिक्रीबाट ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन यूनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । बुधबार १३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको मूल्य घटेको छ । ११ वटाको मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ ।
सेयर बजारमा ठूलाे उद्योग भित्रिँदै, अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै
काठमाडौं । अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । अम्बे स्टील्स र एनआइएमबि एस क्यापिटलका आधिकारिक व्यक्तिहरूकाे उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । वार्षिक ४० अर्ब कारोबार गर्ने यस कम्पनीको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । जय अम्बे स्टील्स लिमिटेडकोउत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ । ‘अम्बे’ ब्रान्डअन्तर्गत क्षेत्रको ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको कम्पनीको दाबी छ । पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्लाको नेपालगञ्जमा रहेको छ भने उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टील, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स लगायत उत्पादन गर्दै आएको छ । कम्पनीले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराउने बताएको छ । कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाे दाबी गर्दै स्टील आयातको आवश्यकतालाई न्यून गर्दै गएको बताएको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन सर्वसाधारणबाट पुँजी जुटाएर उद्योग विस्तार गर्ने रणनीति लिएको छ ।