सानिमाको १२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सानिमा क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक २६ गते दिउसो ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।
ब्याजदर घटेको मौका छोप्यो निफ्राले, ६ प्रतिशत ब्याजमा ५ अर्ब ऋणपत्र जारी गर्दै
काठमाडौं । निक्षेपको ब्याजदर घटेको अवसरमा नेपाल इन्फ्रास्ट्राक्चर बैंकले सस्तो ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको छ । बैंकले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको नाम ‘निफ्रा उर्जा ऋणपत्र ६%, २०८८/८९’ राखिएको छ । हाल बैंकहरूले निक्षेपमा बढीमा ५ प्रतिशतमात्र ब्याज दिइरहेको अवस्थामा निफ्राले ६ प्रतिशतमा जारी गर्ने ऋणपत्र बजारमा बिक्ने सम्भावना अधिक छ । दुई वर्षअघि बैंकहरूले मुद्दतीमा दिने ब्याजदरभन्दा १ प्रतिशत कम व्याजदरमा बैंकहरूले ऋणपत्र बिक्री गरेका थिए । तरलता अभावको समयमा वाणिज्य बैंकहरूले १० देखि १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काषन गरेका थिए । कुल ५ अर्ब रूपैयाँको ऋणपत्रमा ६० प्रतिशत परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काषन गरिने बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काषन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काषन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा निष्काषन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्काषन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । ऋणपत्र निष्काषनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिने प्रक्रिया अगाडि बढेको बैंकले जनाएको छ ।
टाटा सन्सको आईपीओको प्रतीक्षामा भारतीय सेयर बजार, नोएल टाटाको रणनीति के हो ?
काठमाडौं । अर्बपति रतन टाटाको निधनपछि उनकाे स्थानमा नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । उनी पल्लोनजीका मिस्ट्रीका ज्वाइँ हुन् । यही कारण अहिले टाटा सन्सको आईपीओलाई लिएर विभिन्न किसिमका अड्कलबाजी सुरु भएको छन् । टाटा सन्सको आईपीओ छिट्टै आउन सक्छ भन्ने कुरासँग सम्बन्धित व्यक्तिले बताउन थालेका छन् । रिजर्भ बैंक (आरबीआई)ले सेप्टेम्बर २०२५ सम्म यसको लिस्टिङकाे लागि समय दिएको छ। एसपी ग्रुप लिस्टिङ चाहन्छ टाटा ग्रुपकाे होल्डिङ कम्पनी टाटा सन्स हो । यसमा शापूरजी पलाेनजी ग्रुप (एसपी ग्रुप) को १८.५ प्रतिशत सेयर छ । एसपी समूहले टाटा सन्सलाई जतिसक्दो चाँडो लिस्टिङ गर्न चाहन्छ ताकि तिनीहरूको कम्पनीको सेयरको उचित मूल्य थाहा पाउन सकियोस् । यससँगै एसपीले केही सेयर बेचेर ऋण तिर्न पनि सकाेस् । सेप्टेम्बर १६ मा सम्पन्न टाटा सन्सका सेयरधनीहरूको वार्षिक साधारणसभामा एसपी समूहले पनि यो मुद्दा उठाएको मिडियामा खबर आएको छ । टाटा भारतको सबैभन्दा मूल्यवान ब्रान्ड हो, जसको मूल्य यस वर्षकाे जुनमा २८.६ बिलियन डलर थियो । के भन्छ रिजर्भ बैंक ? रिजर्व बैंकले टाटा सन्सलाई गैर-बैंकिङ फाइनान्स कम्पनी (एनबीएफसी) माथिल्लो तहमा वर्गीकृत गरेको छ । त्यस्ता कम्पनीलाई सूचीकरणका लागि सेप्टेम्बर २०२५ सम्मको समय दिइएको छ । यद्यपि, २०२३-२४ मा नै आफ्नो सम्पूर्ण ऋण २१ हजार ८१३ करोड भारु चुक्ता गरिसकेपछि कम्पनीले एनबीएफसीको माथिल्लो तहबाट वर्गीकरण गर्न भारतीय रिजर्व बैंकमा निवेदन दिएको छ । यसो गर्दा कम्पनी दर्ता नभएको कोर इन्भेस्टमेन्ट कम्पनी (सीआईसी) रहनेछ । त्यसपछि उसलाई सूची बनाउन बाध्य हुनेछैन । यस निवेदनमा रिजर्भ बैंकले अहिलेसम्म कुनै निर्णय गरेको छैन। अहिले अवस्था फेरिएको छ रतन टाटाको मृत्युपछि टाटा ट्रस्टको स्थितिमा परिवर्तन आएको छ । अब टाटा सन्सको ६५ प्रतिशतभन्दा बढी सेयर राख्ने नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । नोएल टाटा पल्लोनजीका ज्वाइँ हुन् । त्यसैले नोएल टाटाले अघिल्लो नीतिमा परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ । यद्यपि, टाटा सन्सको आईपीओबारे अड्कलबाजी जारी छ । स्वार्थको द्वन्द्वको घटना पर्दाफास यसैबीच टाटा सन्सले स्वार्थको द्वन्द्वको आरोपको सामना गर्न सक्छ । वास्तवमा वेणु श्रीनिवासन सन् २०१६ देखि टाटा सन्सको बोर्डमा छन् । सरकारले उनलाई सन् २०२२ मा आरबीआई बोर्डको सदस्यसमेत बनाएको थियो । विश्लेषकहरूका अनुसार वेणु श्रीनिवासन आरबीआई र टाटा दुवैको बोर्डमा रहनु गम्भीर विषय हो, यसले प्रत्यक्ष रूपमा स्वार्थको द्वन्द्व देखाउँछ । विश्लेषकहरू आरबीआई बोर्डमा श्रीनिवासनको पदले गर्दा टाटा ट्रस्टसँगको सम्बन्धका कारण नैतिक चिन्ता जन्माउँछ । टाटा सन्समा टाटा ट्रस्टको ठूलो प्रभाव छ । आरबीआईले के जारी गर्याे परिपत्र ? रिजर्व बैंकले अक्टोबर २२, २०२१ मा परिपत्र जारी गरेको थियो । यसअनुसार केही एनबीएफसीहरू स्टक एक्सचेन्जमा सूचीबद्ध हुनुपर्छ । यसमा विशेषगरी एसबीआर संरचनाको माथिल्लो तहमा वर्गीकृत कम्पनीहरूको लागि सेप्टेम्बर २०२५ सम्मको समय छ । सेप्टेम्बर १४, २०२३ मा आरबीआईले टाटा सन्ससहित माथिल्लो तहमा राखिएका १५ एनबीएफसीहरूको नाम जारी गरेकाे थियाे । तीमध्ये अधिकांश कम्पनी सूचीकृत भएका छन् । तर टाटा सन्सको सूचीकरणको प्रक्रिया अझै सुरु भएको छैन । एजेन्सी