शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार (आज) भेट भएको हो । 

भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।

शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले गर्दै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रसियाबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटमा राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताए । 

उनले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखे ।

Share News