६ लाख २८ हजारले हेरे परान, मुगलानको कमाई ६ लाख रुपैयाँ

चलचित्रको व्यावसायिक विवरण सार्वजनिक काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।  गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले पुस १९ गतेसम्म २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा ८ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् । गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यूः च्याप्टर १’ ले सोही अवधिसम्म २१ लाख ५८ हजार ४०२ रुपैयाँ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको ६ हजार ८९२ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् । मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोही अवधिमा ६ लाख ८२ हजार २८३ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रको कूल २ हजार १६६ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।  गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले सोही अवधिमा ९३ लाख ८३ हजार ५१६ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल २९ हजार ६८३ वटा टिकट बिक्री भएका छन् । भ्रष्टाचार र बेथिति विरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।  गएको पुस १० गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘मुगलान’ ले ६ लाख ५ हजार २९४ रुपैयाँ कमाइ गरेको छ । अभिनेता प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रको २ हजार २८८ वटा टिकट बिक्री भएका छन् । आशिष ढकालको निर्देशनमा तयार भएको उक्त चलचित्रले निकै न्यून कमाइ गरेको छ । हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले १७ करोड ७१ लाख १७ हजार ८३० रुपैयाँ कमाइ गरेको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्य लगायतले अभिनय गरेका छन् ।  चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

एनपीएलमा हानेका छक्का र चौकाबापत ५ हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज

काठमाडौं । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै ५ हजार कफीको बिरुवा रोप्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर रहेकाे यस कलेजले एनपीएलमा प्रहार भएका चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने निर्णय गरेको थियो । कलेजले एक छक्का बराबर ६ वटा र एक चौका बराबर ४ वटा कफीको बिरुवा रोप्ने घोषणा गरेको थियो । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार २०८२ को एनपीएलमा ४२७ वटा छक्का र वटा ६०७ चौका प्रहार भएको छ । सोही अनुसार कलेजले छक्का बराबर २ हजार ५६२ र चौका बराबर २ हजार ४२८ विरुवा रोप्दा जम्मा ४ हजार ९९० वटा विरुवा रोप्ने भएको हो । ‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले भने । यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ ।  कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी थरीका बिरुवा रोपेको थियो । त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुइवटा विरुवा रोपिने दर कायम गरिएको थियो । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।

छुनुमुनुले गर्‍यो  वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान

काठमाडौं । बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ ।  छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो ।  छुनुमुनुका अध्यक्ष युवा रंगकर्मी राजन भुजेलले आ(आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु संस्था नै गौरवान्वित भएको बताए । यस्तै, छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रंगकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए । सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सवैप्रति कृतज्ञता ज्ञापन गरे । अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रंगकर्मी शर्माले उन्नत समाजमा सधैं कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे ।  नेपालमा पनि विद्यालय तहमा रङ्गकर्ममा वालवालिकाको आकर्षण बढ्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे । कार्यक्रममा छुनुमुनुको १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले जुठो शीर्षकको नाटक प्रस्तुत गरेका थिए । उनीहरूलाई कोर्ष पुरा गरेको अवसरमा दीक्षान्त प्रमाण पत्र प्रदान गरिएको थियो ।