लहानमा नौ करोडको लागतमा अत्याधुनिक ‘कार्निभल सिनेम्याक्स’ सञ्चालनमा

सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटलचोक नजिकै नौ करोड लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ । स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हलको सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार साँझ एक समारोहबीच उद्घाटन गरेका छन् । कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो एडभान्स प्रविधिमा बनेको दाबी गरेका छन् । उनका अनुसार, नवनिर्मित सिनेमा हलको क्षमता १३८ सिट रहेको छ । अध्यक्ष मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा प्रस्तुत गरेका छन् ‘यो एउटा सिनेमा हलमात्रै होइन, लहानमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, उनले भने, ‘समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो ।’ उनका अनुसार, यस हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन् । दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ, र मनोरञ्जनका लागि हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ । मधेस प्रदेशमा वीरगञ्जबाहेक अन्यत्र सुविधासम्पन्न हल नभएको अवस्थामा लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुर आसपासका बासिन्दालाई लक्षित गरेको छ । यसअघि स्तरीय सिनेमा हल नहुँदा यी क्षेत्रका दर्शक फिल्म हेर्न वीरगञ्ज वा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो । यसका साथै, भारतीय सीमा क्षेत्र नजिक रहेकाले सीमावर्ती जिल्लाका लाखौँ भारतीय नागरिकलाई पनि आकर्षित गर्ने निर्माण पक्षले अपेक्षा गरेको छ । नयाँ सिनेमा हल सञ्चालनमा आउँदा स्थानीय, उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरू उत्साहित भएका छन् । यस सन्दर्भमा उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले खुसी व्यक्त गर्दै भने, ‘मोफसलमा ‘गतिलो हल छैन’ भन्ने सिरहावासीको गुनासोको अन्त्य भएको छ । यसलाई गौरवको रूपमा लिनुपर्छ, यसले लहानको पर्यटन तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ ।’ लहान नगरपालिका–७ का वडाध्यक्ष राम औतार शर्माले कार्निभल सिनेम्याक्सजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताउँदै नेपाललगायत भारतबाट आउने दर्शकले लहान बजारलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । रासस

हरिवंश, धुर्मुस, जितु, बले र दीपाश्री एउटै पर्दामा, नवीनको लगानीमा पाँच पाण्डव

  काठमाडौं । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए ।  निर्देशक निरौलाले भने, ‘हामीले ५ जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।’ उनले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङ लगायतको अभिनय रहने जानकारी दिए । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताए ।  कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र ५ पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिए । 

गोल्छा र आचार्यको लगानीमा बनेको परान, सुखी हुन छोडिरहेको खुसीको कथा

काठमाडौं । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्य दृश्य निर्देशनको अनुभव सङ्गालेका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उनलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो । ‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दैन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ,’ निर्देशक आचार्यले भने ।  कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिए । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताए । ‘चलचित्रमा बा र छोरा बीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा-आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु,’ निर्देशक आचार्यले भने । चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उनी खुसी नै छन् । ‘मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ,’ उनले भने । एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको चलचित्र ‘परान’को कथा सार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको अभिनेता नीर शाहले बताए ।  ‘मैले चलचित्रमा धर्म नाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँ कतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ,’ उनले भने । अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न सतप्रतिशत मेहनत गरेको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताए । अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उनले धारणा राखे । परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् । शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सृजना गरेका छन् । चलचित्र कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।