राष्ट्रपति पौडेलले गरे थप एक अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो । सरकारले आवश्यक कानुनी व्यवस्था संशोधन तथा सुधारका लागि अध्यादेश ल्याएको जनाइएको छ । अध्यादेशमार्फत विभिन्न प्रचलित ऐनहरूमा संशोधन गरी प्रशासनिक तथा नीतिगत कार्यान्वयनलाई सहज बनाउने उद्देश्य राखिएको बताइएको छ ।
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।
स्थानीय तह निर्वाचनमा रास्वपाको उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ अनिवार्य
काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको गृहकार्यलाई तीव्रता दिएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूका लागि नयाँ र कडा मापदण्ड अघि सारेको हो । बैठकको निर्णयअनुसार रास्वपाको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न चाहने जो–कोही पार्टी सदस्यले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी ’बाट उत्तीर्ण हुनुपर्नेछ । निर्वाचनमा टिकट पाउन पार्टीको ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ को तालिम तथा मूल्यांकन प्रक्रिया पार गरी उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ । बैठकमा रास्वपाको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ । उम्मेदवार छनोटको ठोस रूपरेखा तयार पार्न रास्वपाले पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा एउटा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तयार पारेको खाकामाथि बैठकमा समीक्षा गरिएको हो ।