नेपाल तरुण दलको अध्यक्षमा कोइराला नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ )संशोधनसहित) को धारा ४२ (१) )च) बमोजिम काठमाडौंका कोइरालालाई आइतबार (आज ) अध्यक्ष पदमा नियुक्त गरेका हुन् । गत वैशाख २१ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयअनुसार सभापति थापाले कोइरालालाई अध्यक्षमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । म्याद समाप्त भई कार्यसमिति स्वतः विघटन भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो । नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ । यसका लागि पार्टीले ९ बुँदे स्पष्ट कार्यादेश र कार्यविवरण समेत उपलब्ध गराएको छ । लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएको तरुण दलले नयाँ नेतृत्व पाएसँगै अब महाधिवेशनको प्रक्रिया अघि बढ्ने अपेक्षा पार्टीले गरेको छ ।
एमाले सचिवालय बैठक १० घण्टापछि सकियो, 'निर्वाचन समीक्षा' कार्यदल गठन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक करिब १० घण्टापछि सम्पन्न भएको छ । आइतबार बिहान ११ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा सुरु भएको बैठक भर्खरै सम्पन्न भएको हो । बैठकले उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । एमाले स्रोतका अनुसार कार्यदलले पछिल्ला निर्वाचनको समीक्षा गर्दै पार्टी संगठन सुदृढीकरण, जनआधार विस्तार तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । बैठकमा पार्टीको सांगठनिक अवस्था, सरकारको कामकारबाही, समसामयिक राजनीतिक परिस्थिति तथा नेताहरूको कार्यविभाजन लगायत विषयमा समेत छलफल भएको बताइएको छ । नेकपा एमालेले आगामी असारको तेस्रो साताभित्र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले असार १५ देखि २० गतेभित्र बैठक गर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्ट ले बैठकको मिति अध्यक्ष ओली र महासचिव शंकर पोखरेल बीचको परामर्शपछि टुंगो लगाइने बताए । उनले केन्द्रीय कमिटी बैठकमा सचिवालयमा उठेका समसामयिक राजनीतिक विषय, पार्टी संगठनका एजेन्डा तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल हुने जानकारी दिए ।
सुर्तीजन्य पदार्थको कर कम्तीमा ५० प्रतिशत पुर्याउन माग
काठमाडौं । सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको कर दरका सम्बन्धमा आइतबार (आज)आयोजित अन्तरक्रिया सांसदहरूले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले सुर्तीजन्य पदार्थको करको दर बढाउनुपर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डमा सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको सेवनलाई घटाउन सकिने बताए । हाल विश्व स्वास्थ्य सङ्गठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गर्न भनेको छ । तर नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशतमात्र कर लाग्ने गरेको छ । सांसद डा तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पुर्याउनुपर्ने बताइन् । उनले सुर्तीजन्य पदार्थको करबाट उठेको पैसा स्वास्थ्यमा नै खर्च गर्नुपर्ने भनाइ राखिन् । करको दर बढाएर राजस्व सङ्कलनमात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु रहेको उनको भनाइ छ । उनले सरकारले हाल वार्षिक तीनदेखि पाँच प्रतिशतसम्मको सामान्य कर वृद्धि गर्ने गरेको उल्लेख गर्दै त्यसले उपभोक्ताको व्यवहार परिवर्तन नल्याएको बताइन् । सांसद डा चन्द्रसिंह यादवले नसर्ने रोगका कारणले गर्दा मृत्युदर ६६ प्रतिशत रहेको भन्दै सुर्तीजन्य पदार्थको कर बढाएर नसर्ने रोगको जोखिम कम गर्न सकिने बताए । सांसद गुरु बरालले सुर्तीजन्य पदार्थका कर वृद्धिसँग १५ देखि २४ वर्ष उमेरसमूहका युवालाई सुर्तीजन्य पदार्थको सेवनबाट टाढा राख्नुपर्ने बताए । सांसद भीमकुमार बुढामगरले र भरत गिरीले सुर्तीजन्य पदार्थमा गरिने कर वृद्धिले मात्र उपभोग घटाउन सकिने भन्दै सुर्तीजन्य पदार्थबाट लाग्ने रोग पनि कम हुने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले सुर्तीजन्य पदार्थको करको दर ५५ प्रतिशत पुर्याउनुपर्ने बताए । उनले प्रत्येक वर्ष तीनदेखि पाँच प्रतिशत कर बढिरहे पनि अहिलेको सरकारले सुर्तीजन्य पदार्थको करको दरलाई ५५ प्रतिशत पुर्याउनुपर्नेमा जोड दिए । करविज्ञ डा रुप खड्काले कानुनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको कर नलाग्ने गरेको उल्लेख गर्दै सरकारले यसपटक कर बढाउनुपर्ने बताए । प्रतिष्ठानका सुर्तीजन्य पदार्थको नियन्त्रण कार्यक्रमका संयोजक डा जयकुमार गुरुङले क्यान्सर गराउने मुख्य कारकतत्व सुर्तीजन्य पदार्थ भएकाले यसको नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले सुर्तीजन्य पदार्थको सेवन घटाउनका लागि यसको करमा वृद्धि आवश्यक रहेको बताए ।