काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता बनाउने निर्णय गरिएको हो ।
बैठकले पार्टी विधान बमोजिम सभापतिसहित निर्वाचित पदाधिकारीहरू रहने गरी पार्टी सचिवालय गठन गरेको छ ।
सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् ।
महाधिवेशनको विस्तृत समीक्षा गर्दै रास्वपाले वडादेखि केन्द्रसम्मका कमी-कमजोरीबाट पाठ सिकेर अघि बढ्ने निर्णय गरेको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न भाद्र १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने र मन्त्रीहरूसँग महिनाको कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य संवाद गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय युवा दिवस २०२६ मनाउन कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ भने नागरिकका समस्या सुन्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टी प्रतिनिधिहरूको दैनिक उपस्थिति अनिवार्य गरिएको छ ।
बैठकले आत्महत्या वा आत्मदाह जस्ता दुःखद घटनाका सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न आफ्ना सदस्यहरूलाई कडा निर्देशन समेत दिएको छ ।

