राजनीतिक दलको खातामा पाँचकरोड रुपैयाँसम्म, कुन पार्टी कति धनी ? सूचीसहित

काठमाडौं २७ भदौ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्। कसरी चलिरहेका छन् त पार्टीहरू भन्ने समाचार सोमबारको नेपाल समाचारपत्रमा छापिएको छ। संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ। भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो। कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ। नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ। प्रमुख ६ पार्टीको खातामा कति रुपैयाँ ? नेपाली कांग्रेस ५ करोड नेकपा एमालेको ४ करोड संघीय समाजवादी फोरम नेपाल २५ लाख नेकपा माओवादी केन्द्र ५ लाख राप्रपा नेपाल ४ लाख ८३ हजार नेकपा माले ४ लाख

वायुसेवा निगमलाई जहाज किन्न अर्थ जमानी, २५ अर्ब दिन सरकार तयार

काठमाडौं २७, भदौ । राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमलाई दुईवटा ठूलो आकारको जहाज किन्न २५ अर्ब रुपैयाँको जमानी बस्न अर्थ मन्त्रालय तयार रहेको छ । जहाज खरिद गर्न लागेको लामो दूरीमा संचालन हुने ठूलो जहाज (वाइडवडि) खरिदमा जमानी बस्न अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । वायुसेवा निगमले नेपालबाट सीधै युरोप तथा अमेरिकासम्मको उडान गर्न सक्ने क्षमताको वाइडवडि नामक जहाज किन्न अर्थ मन्त्रालय सहमत भएको हो । अर्थले आइतबार सहमति दिएपछि अब जहाज खरिद प्रक्रिया मन्त्रीपरिषद् पुग्ने भएको छ । सरकारले स्वीकृति दिएपछि निगमले सार्वजनिक खरिदको प्रस्ताव आव्हान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले आइतबार पर्यटन र अर्थ मन्त्रालयका मन्त्री तथा सचिवलाई राखेर गरेको एक प्रस्तुतीकरण पश्चात अर्थले आवश्यक प्रक्रिया अगाडि बढाउन सहमति दिएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनका अनुसार दुइवटा जहाज किन्न अर्थ मन्त्रालय जमानी बस्नुपर्छ । यसका निम्त अर्थ तयार भएको छ । अब अर्थको सहमतिपश्चात मन्त्रीपरिषद्बाट अनुमति पाउनुपर्छ । निगमले पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा वाइडवडि जहाज खरिद गर्न लागेको छ । यो जहाज खरिद गर्न निगमले पैसाको जोहोका लागि अर्थको अनुमति मागेको थियो । अर्थले सहमति दिएपनि निगमले जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । निगमको जहाज खरिद गर्न कर्मचारी संचय कोष तथा नागरिक लगानी गर्ने इच्छा देखाएको पनि कंसाकारले बताए ।  निगमले खरिद गर्ने जहाजको व्यापारिक योजना योजना मागेकोले प्रस्तुतीकरणबाटै स्पष्ट पारेको र आइतबारै अर्थमन्त्री कृष्णबहादुर महराले सहमित दिएको जानकारी पनि कंसाकारले दिए । २०७४ असोजमै जहाज आउने निगमले एक दशकदेखि अगाडि सारेको वाइडबडी जहाज खरिद योजना आगामी १८ महिनाभित्रै पूरा गर्ने गरी योजना अगाडि सारेको छ । निगमले आगामी २०७४ असोजसम्मा पहिलो र चैत्रसम्ममा दोस्रो जहाज ल्याउने गरी योजना तयार पारेको पनि निगमको भनाइ छ । निगमले एयरबस कम्पनीको दुई सय ५० सिटभन्दा ठूला वाइडबडि जहाज खरिदका लागि २५ अर्ब रुपैयाँ आवश्यक रहेको व्यापारिक योजनासहितको प्रतिवदेन सरकारलाई बुझाएको छ । सरकारले स्वीकृति दिएको १८ महिना भित्रमै दुईवटा वाइबडी ल्याउने दाबी कंसाकारको छ । निगमले दुई वाइडबडी खरिद गरेमा १७ प्रतिशत बजार हिस्सा पुर्याउने व्यावसायिक योजना तयार पारेको छ । हाल निगमको बजार हिस्सा वार्षिक आठ प्रतिशत मात्रै छ । वायुसेवा निगमले सन् २००८ पछि पर्यटन मन्त्रालय हुँदै सरकारलाई बुझाउन थालेको थियो । निगमले कंसाकारकै समयमा २०६५ सालमा नै वाइडबडी जहाजको खरिद प्रक्रिया अगाडि बढाएको थियो । फेरि कंसाकारले नै जिम्मेवारी सम्हालेका बेला पुनः यो प्रस्ताव अगाडि सरेको छ । निगम स्थापना भएको ५८ वर्ष भैसकेको भएपनि हाल अन्तर्राष्ट्रिय उडानमा जम्मा तीनवटा जहाजमात्रै बनाउन सकेको छ । हरेक वर्ष वाइडबडि जहाजको खरिदको अगाडि सार्ने गरेको भएपनि पूरा भने हुन सकेको छैन ।

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्ममा पोखरामा, बहुमतको निर्णयमा विवाद नगर्न राणाको आग्रह

काठमाडौँ, २६ भदौ । नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गरी तरुण दलका अध्यक्ष अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी बताए । अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताए । उनले भने “अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।” वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको उनले बताए । दलमा विवाद देखिएको बेलामा निर्वाचन सम्भव छ ? भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष राणाले ४५ केन्द्रीय समितिमध्ये २७ जनाको निर्णयलाई आधार मानेर महाधिवेशन गर्न लागिएको बताए । निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने भएको छ । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ । त्यस्तै, नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि काठमाडौँमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घले जनाएको छ ।