सञ्चारमन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको दक्षिण कोरियाको भ्रमण स्थगित भएको छ ।

कोरियाको राजधानी सिओलमा आयोजना हुने भनिएको ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुने पूर्वनिर्धारित भ्रमण स्थगित भएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । 

उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए ।

तर देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले पूर्वनिर्धारित कोरिया भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोधसमेत गरेको छ ।

भ्रमण स्थगनको मुख्य कारण मुलुकका विभिन्न क्षेत्रमा विपद्का कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा सञ्चार सेवा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।

Share News