प्रधानमन्त्रीको भारत भ्रमण पेण्डिङ प्रोजेक्टमा केन्द्रित हुनुपर्छः विज्ञ
काठमाडौं, २८ भदौ । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण पेण्डिङ प्रोजेक्टमा केन्द्रित हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आर्थिक कुटनितिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमणमा पहिले नै सम्झौता गरिएका तर पेण्डिङ भएका प्रोजेक्टहरुमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण सद्भावको भ्रमण हुने जनाए । पूर्वराजदुत एवम् पराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा पेन्डिंग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा भ्रमणको एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । शर्माले भने,‘परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’ भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले भने,‘लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।’ उनले आयात र निर्यातमा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए । आर्थिक कुटनीतिज्ञ डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिँग प्राजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे । भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,‘हामीले यसबाट फाईदा उठाउनुपर्छ ।’ अर्का पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे ।
मेडिकल कलेजको सिट थपघट गर्न आइओएमको निर्णय, एक सय १५ सिटसम्म थप गर्न सिफारिस
काठमाडौं २८, भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षका लागि मातहतका क्याम्पसले एमबिबिएस र बिडिएसमा भर्ना लिने विद्यार्थी सिट संख्या सिफारिस गर्ने निर्णय गरेको छ। आइओएमले गरेको सो निर्णय नेपाल मेडिकल काउन्सिलको बोर्डले छलफल गरी स्वीकृत गरेपछि लागू हुने खबर आजको नयाँ पत्रिकामा छापिएको छ। फ्याकल्टी बोर्डको सोमबारको बैठकले एमबिबिएसतर्फ अधिकतम एक सय १५ सिट दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो । आइओएम स्रोतका अनुसार अघिल्लो वर्ष एक सय ३५ सिट पाएका कलेजको सिट संख्या घटाएर यस वर्ष अधिकतम एक सय १५ मा झारिएको छ । यसैगरी, बिडिएस ९दन्त चिकित्सा०तर्फ अधिकतम ७० सिट संख्या सिफारिस गर्ने निर्णय गरिएको छ। सिफारिस भएका मेडिकल कलेजको मेडिकल काउन्सिलले पुनस् अनुगमन गर्नेछ । मेडिकल काउन्सिलले आइओएमले सिफारिस गरेको सिट संख्यामा आफूले अनुगमन गरेको आधारमा केही सामान्य हेरफेर गर्न सक्नेछ। आइओएमले सिफारिस गरेको सिट संख्या प्रायस् काउन्सिलले परिर्वतन गर्ने चलन छैन । ‘सामान्य एक–दुई सिट घटबढ हुन सक्छ,’ बोर्डका एक सदस्यले भने, ‘फ्याकल्टी बोर्डले पास गरेको कुरा काउन्सिलले सामान्य मात्र हेरफेर गर्ने गरेको छ ।’
प्रचण्डको भारत भ्रमण राजकीय हुने, को को जाँदैछन प्रमसँग भारत ?
काठमाडौं २८, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयले भ्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ भने भारतीय विदेश मन्त्रालयले भ्रमण हुने सामान्य जानकारी दिएको छ । ‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीमती सीता दाहाल भदौ ३० देखि २ असोजसम्म भारतको राजकीय भ्रमणमा हुुनुहुनेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्डले हाम्रा प्रधानमन्त्रीसँग ३१ भदौमा कुराकानी गर्नुहुनेछ भने राष्ट्रपतिजीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।’ भारतले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि दुई देशबीच सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरेको छ । ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणले आपसी हित र चासोका विषयमा छलफल गर्ने मौका प्रदान गर्नेछ, साथसाथै दुई देशबीचको व्यापक क्षेत्रहरूमा रहेको सदीऔँ पुरानो निकट र मित्रवत् सम्बन्ध थप सुदृढ उपायको खोजी गर्नेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्रीको राजकीय भ्रमण हुनेछ, उनी राष्ट्रपतिका अतिथिका रूपमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगेकै साँझ नेपाली दूतावासद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । सोही दिन भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रचण्डको भेट हुनेछ । प्रधानमन्त्रीका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ दिनेछ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदाराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन साँझ उनको राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्याउनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । को को जाँदैछन प्रमसँग भारत ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत जाँदै छन् । प्रधानमन्त्रीले १ असोजमा हिमाञ्चलको नाथपाझाक्री जलविद्युत् परियोजना भ्रमणमा जाने कार्यक्रम छ । २ असोजमा हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण गरेर प्रधानमन्त्री सोही दिन स्वदेश फर्किनेछन् ।