धितोपत्र कारोबारमा मुछिएका व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रख्यात व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सोमबार न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई उक्त म्याद थपको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३ मा गोल्छाको नाम पनि समावेश भएपछि उनी अनुसन्धानको घेरामा परेका हुन् । प्रतिवेदनमा भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत गरिएको कारोबारमा दीपक भट्टलाई सहयोग गर्ने क्रममा गोल्छासहित विभिन्न कम्पनीहरूको रकम प्रयोग भएको उल्लेख छ । सीआईबीले गोल्छालाई गत वैशाख १० गते नक्सालबाट नियन्त्रणमा लिएको थियो । धितोपत्र सम्बन्धी विवाद सार्वजनिक भएलगत्तै उनले फागुन २५ गते हिमालय रि-इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
सुकुम्बासी बस्ती हटाएपछि ८९१ परिवार आए सरकारको सम्पर्कमा
काठमाडौं । काठमाडौंका विभिन्न नदी किनारका सुकुम्बासी बस्ती हटाएपछि घरजग्गा नभएका पीडितहरूको विवरण संकलन गर्ने क्रम तीव्र पारिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा पाँचवटा बस्तीमा डोजर चलाइएपछि विस्थापित भएकाहरूमध्ये सोमबार अपराह्नसम्म ८९१ परिवारका ३ हजार ७९२ जनाले दशरथ रंगशाला पुगेर आफ्नो विवरण टिपाएका छन् । आफ्नो आयस्रोत र ओत लाग्ने ठाउँ नभएको भन्दै सरकारको सम्पर्कमा आउनेहरूको संख्या बढ्दै गएपछि हाल उनीहरूलाई कीर्तिपुर र विभिन्न होटलहरूमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका व्यक्तिहरूमध्ये को वास्तविक सुकुम्बासी हुन् र को होइनन् भन्ने विषयमा सरकारले १५ दिनभित्र पहिचान गरिसक्ने लक्ष्य लिएको छ । छानबिनपछि वास्तविक पीडित ठहरिएका परिवारलाई अस्थायी रूपमा नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ । सरकारले तत्कालका लागि थप नयाँ बस्तीहरू नभत्काउने र हाललाई नदी किनारका जोखिमपूर्ण क्षेत्रहरू मात्र खाली गरिएको स्पष्ट पारेको छ । विस्थापितहरूको दीर्घकालीन व्यवस्थापनका लागि पहिचान प्रक्रिया सकिएलगत्तै ठोस कदम चालिने सञ्चार विज्ञ दीपा दाहालले जानकारी दिइन्।
काठमाडौंका विभिन्न ठाउँमा सिक्री लुट्ने गिरोह समातियो, पाँच जनामाथि अनुसन्धान सुरु
काठमाडौं । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामाग्रीसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गत चैत १२ गते, १९ गते र बैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाट गरेको घटनाको अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग १२.९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायतका सामग्री बरामद गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।