स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
काठमाडौं । काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा शनिबार कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ । कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । 'स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ', उनले भने । सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ ।
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ, जसले अमेरिका–युरोप सम्बन्धमा नयाँ तनावको सङ्केत गरेको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार, एक वरिष्ठ रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएअनुसार यो योजना हाल विचाराधीन अवस्थामा रहेको छ । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले हालै इरानसँग सम्बन्धित अमेरिकी सैन्य गतिविधिबारे गरेको टिप्पणीलाई ‘अनुचित र सहयोगी नभएको’ भन्दै अमेरिकी पक्ष असन्तुष्ट देखिएको छ । यसअघि मर्जले अमेरिकाको इरानसँगको सैन्य संलग्नतालाई ‘योजना विहीन’ भन्दै आलोचना गरेका थिए । उनले अमेरिकालाई इरानी नेतृत्वबाट ‘अपमानित भइरहेको’ आरोपसमेत लगाएका थिए । यी टिप्पणीहरूले दुई देशबीच कूटनीतिक तनाव बढाएको देखिन्छ । यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन नेतृत्वमाथि कडा टिप्पणी गर्दै मर्जले ‘के बोलिरहेका छन् भन्ने थाहा नभएको’ बताएका थिए । साथै, उनले इरानको आणविक महत्वाकांक्षाप्रति जर्मनी गम्भीर नभएको आरोप पनि लगाएका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत जर्मनीमा रहेका अमेरिकी सैनिक सङ्ख्या घटाउने सम्भावना रहेको सङ्केत दिएको छ र यसबारे निर्णय ‘छोटो समयमै’ हुने बताए । उनले स्पेन र इटालीमा पनि अमेरिकी सैनिक उपस्थिति घटाउन सकिने बताए । युरोपेली सहयोगी देशहरूले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वमा पर्याप्त सहयोग नगरेको भन्दै उनले ती देशहरूको आलोचना गरे । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले सम्भावित सैनिक कटौतीका लागि आफ्नो देश तयार रहेको बताए । उनले यसलाई परिस्थितिअनुसार सामना गरिने विषयका रूपमा लिएको सङ्केत दिएका छन् । हालको तथ्याङ्कअनुसार, गत वर्षको अन्त्यसम्म जर्मनीमा ३६ हजार भन्दा बढी अमेरिकी सक्रिय सैनिक तैनाथ छन् । यसबाहेक करिब एक हजार ५०० आरक्षित सैनिक र ११ हजार ५०० नागरिक कर्मचारी पनि त्यहाँ रहेका छन् । जर्मनीमा अमेरिकी युरोप कमाण्ड र अफ्रिका कमाण्डको मुख्यालय रहेको छ, र रामस्टाइन हवाई अड्डा अमेरिकी सैन्य सञ्चालनका लागि महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ । रासस
१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्याकेज १ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५७ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा ‘डाइभर्सन’ सुरुङलगायत संरचनाको निर्माण सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको जनाइएको छ । उक्त कार्य सम्पन्न भएसँगै मुख्य बाँधको ‘कङ्क्रिटिङ’ तथा सम्बन्धित ग्राउटिङ कार्य सुरु गर्न आवश्यक पूर्वाधार तयार भएको छ । 'आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रििटङ कार्यको सुरुआत गरिएको थियो,' उनले भने, 'मुख्य बाँधको कङ्क्रिट, कोर ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।' प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको भण्डारीले बताए । विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाहरूको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७६ प्रतिशत रहेको भण्डारीले बताए । भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य भइरहेको छ । कुल १४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म १४०७.७५ मिटर सम्पन्न भएका छ । प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न गरेको छ । यस प्याकेजको प्रगति ७७ प्रतिशत रहेको छ । प्रसारण लाइनको मार्गाधिकारमा पर्ने राष्ट्रिय वनका रहेका रूखबिरुवा हटाउन सम्बन्धित डिभिजन वन कार्यालयसँगको समन्वयमा छपान कार्य सुरु भएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस