इरान-अमेरिका द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थता, इरानी प्रस्ताव वासिङ्टन पठाइयो
काठमाडौं । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका र इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत रहेको बताएका छन् । इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना) सँगको अन्तर्वार्तामा राजदूत मोघादामले भने, ‘अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने इरानको नयाँ वार्ता योजना हालको प्रक्रियाको मुख्य मध्यस्थकर्ताका रूपमा पाकिस्तानले प्रयास गरिएको छ ।’ पाकिस्तानी नेतृत्वले इरानी प्रस्तावलाई वाशिङ्गटनसमक्ष हस्तान्तरण गरेको छ भने यसको औपचारिक जवाफ आइसकेको छैन । ‘तेहरान आफ्नो स्थिति र मागमा पारदर्शी छ । यो संयुक्त राज्य अमेरिकामा निर्भर छ । यदि उसले इमान्दारीपूर्वक मुद्दाहरू समाधान गर्न र वार्तामा सफलता हासिल गर्न खोज्छ भने उसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ,’ राजदूत मोघादामले थपे । उनले मध्यपूर्व क्षेत्र र विश्वका सबै समुदाय वार्ताको परिणामको प्रतीक्षामा रहेको र इरानले देशको रक्षाका लागि आवश्यक उपायहरू प्रदान गर्दा कूटनीतिको बाटो पछ्याउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘संयुक्त राज्य अमेरिकाले आफ्नो अत्यधिक र आक्रामक आचरण अन्त्य गर्नुपर्दछ र यसको सट्टा इरानको अधिकारको सम्मान गर्ने दृष्टिकोण अपनाउनु पर्छ ।’
सहकारी नियमन प्राधिकरण र व्यवस्थापन समितिका ५ पदाधिकारी पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै सहकारी क्षेत्रका ५ जना उच्च पदाधिकारीहरू पदमुक्त भएका छन् । राजपत्रमा समेत प्रकाशित भइसकेको उक्त अध्यादेशले सहकारी ऐन, २०७४ बमोजिम नियुक्त पदाधिकारीहरूको पद रिक्त गराएको हो । अध्यादेशको व्यवस्था अनुसार २०८२ चैत १२ गतेभन्दा अघि नियुक्त भएका पदाधिकारीहरू मात्र पदमुक्त हुने प्रावधानका कारण राष्ट्रिय सहकारी नियमन प्राधिकरणका तीन जना र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका दुई जना सदस्यको पद गुमेको छ । पदमुक्त हुनेहरूमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश प्रसाद चौलागाई र चार्टर्ड एकाउन्टेन्ट महेश खनाल रहेका छन्। अध्यक्ष शर्मा २०८२ असार ३० मा, चौलागाई साउन २७ मा र खनाल भदौमा नियुक्त भएका थिए । त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यहरू कुलप्रसाद न्यौपाने र मधुकर राना पनि अध्यादेशका कारण पदमुक्त भएका छन् । यद्यपि, सोही समितिका अध्यक्ष डिल्लिराज आचार्यसहित तीन जनाको पद भने सुरक्षित रहेको छ । २०८३ वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका अध्यक्ष आचार्य, सदस्यहरू डा. नवराज सिम्खडा र रोशन बहादुर शाक्य अध्यादेशले तोकेको कट-अफ मिति (२०८२ चैत १२) पछि नियुक्त भएका कारण उनीहरूको पद कायम रहेको हो । सरकारले सहकारी ऐनको दफा १०३ग र १०५ मा रहेका नियुक्तिसम्बन्धी प्रावधानमा विशेष व्यवस्था गर्न यो अध्यादेश ल्याएको हो ।
कास्कीमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३४ वर्षीय छोरा भीमबहादुर भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । बुबा ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका डीएसपी हरिबहादुर बस्नेतले बताए । गत १७ वैशाखमा उनले रामबहादुरलाई घाँटीमा गलबन्दीले थिचेर घाइते बनाइ फरार भएका थिए । प्रहरीका अनुसार घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।