शीतलनिवासबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले पुन: पठाउने
काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार (हिजो) संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनस्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए । बहुमतीय प्रणालीको मर्म र संवैधानिक भावनासँग मेल खाने आशंकासहित उनले उक्त अध्यादेशलाई पुनःविचार गर्न सरकारलाई आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिसकेका छन् । यसअघि वैशाख १८ गते जारी गरिएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पनि कार्यान्वयनमा आएको छ । त्यस्तै, वैशाख १७ गते सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको थियो ।
एनएमए मतगणना अपडेट : ४११७ मत गन्दा अध्यक्षमा डा. रावल र महासचिवमा खत्रिको अग्रता
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को जारी मत गणनामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार ४ हजार १ सय १७ मत गणना हुँदा अध्यक्ष तर्फ डा. मङ्गल रावल र डा. बद्री रिजालबीच कडा प्रतिस्पर्धा भइरहेको छ । जसमा रावलले १ हजार ८ सय ३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी डा.बद्री रिजाल १ हजार ७ सय ६० मतकासाथ रावललाई पच्छ्याइरहेका छन् । यस्तै अर्का अध्यक्षका उम्मेद्धार डा. नारायणप्रसाद भुसालले ४ सय ७३ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । जसमा डा. सञ्जीव तिवारीले १ हजार ६ सय ५ मत ल्याउँदा डा. किर्तिपाल सुबेदी १ हजार ३ सय ८३ मतसहित तिवारीलाई पच्छ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र ९ सय ३९ मत पाएका छन् । महासचिव पदमा डा. कालु सिंह खत्री १ हजार ४ सय ९७ मत ल्याइ अग्रस्थानमा छन् भने डा. विश्वराज दवाडी १ हजार ४ सय ७५ मत सहित डा. खत्रि र दवाडीबिच कडा प्रतिस्पर्धा भइरहँदा डा. अमृत भुसालले ९ सय ६० मत प्राप्त गरेर दवाडीलाई पच्छ्याइरहेका छन् । अन्य पदमा पनि मतगणना जारी रहेको छ ।
भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
काठमाडौं । बिचौलिया दीपक भट्ट र व्यवसायी शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर सर्वोच्च अदालततमा सुनुवाइ हुँदैछ । सोमबार (आज) भट्टपत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । त्यसैगरी, गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी परेको छ । भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् । त्यसैगरी, गोल्छामाथि सेयर खरिद चलखेल कसुरमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले गत १० गते नियन्त्रणमा लिएको थियो । भट्ट सम्पत्ति शुद्धीकरण र गोल्छा सीआईबीको हिरासतमा छन् ।