काठमाडौं मोडेल विद्यालय : कलेजले दिन थाल्यो शिक्षक कर्मचारीलाई १५ दिनमै तलब
काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल विद्यालय /कलेजले आफ्ना शिक्षक तथा कर्मचारीलाई १५/१५ दिनमा तलब दिन सुरु गरेको छ । सरकारले कर्मचारीहरूको तलब १५/१५ दिनमा उपलब्ध गराउने नीति अवलम्बन गर्न थालेपछि विद्यालयले वैशाख महिनाबाटै लागु हुने गरी १५/१५ दिनमा तलब दिन थालेको जनाएको छ । विद्यालयले सरकारको नीति समर्थन र अनुशरण गर्दै दिन थालेको बताएको छ । विद्यालयको यो निर्णयले सबै शिक्षक तथा कर्मचारी खुसी भएका छन् ।
महासंघलाई अर्थमन्त्रीको सुझाव : विगतको जस्तो गुट नबनाई सर्वसम्मत नेतृत्व चयन गर्नू
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघलाई विगतजस्तो गुटबन्दीको अभ्यास त्यागेर सहमति र एकतामा आधारित नेतृत्व निर्माण गर्न सुझाव दिएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले आगामी नेतृत्व चयन प्रक्रियालाई विभाजन होइन, सहकार्यको आधारमा अघि बढाउन आग्रह गरे । 'महासंघको चुनावमा पहिलेको जस्तो गुट नबनाउनु होला,' उनले भने, 'अब अर्थतन्त्र कता डोर्याउने भन्ने जिम्मेवारी तपाईंहरूको हातमा छ ।' उनका अनुसार निजी क्षेत्रको एकता र स्पष्ट दृष्टिकोणबिना देशको आर्थिक रूपान्तरण सम्भव छैन । अर्थमन्त्री वाग्लेले महासंघभित्र सहकार्य र समझदारीको वातावरण आवश्यक रहेको औंल्याउँदै अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखे । 'दुवै जना गण्डकी प्रदेशका हुनुहुन्छ, मिलेर जानुपर्छ,' उनले भने । उनले निजी क्षेत्रलाई देशको आर्थिक नेतृत्वदायी शक्ति मान्दै आन्तरिक एकता कायम राख्न सके मात्र प्रभावकारी रूपमा नीतिगत सुधार र आर्थिक विकासमा योगदान दिन सकिने बताए । उनले महासंघलाई संस्थागत रूपमा अझ सुदृढ, जिम्मेवार र एकताबद्ध बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।
उच्च करको बोझ घटाउँदैछौं, गलत नियत भएको ब्युरोक्रेसी ध्वस्त पार्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा अघि बढिरहेको बताउँदै उच्च करको बोझ घटाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा बोल्दै उनले अर्थतन्त्रलाई नयाँ दिशामा डोर्याउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले महासंघको नेतृत्वलाई लक्षित गर्दै आन्तरिक एकता कायम गर्न सुझाव दिए । ‘महासंघको चुनावमा पहिले जस्तो गुटबन्दी नगरौं । अब अर्थतन्त्र कता लैजाने भन्ने जिम्मेवारी तपाईंहरुकै काँधमा छ,’ उनले भने । अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ दुवै गण्डकी प्रदेशका भएकाले सहकार्यमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गरे । वाग्लेले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्याउने लक्ष्य हासिल गर्न निजी क्षेत्रको अग्रणी भूमिका रहने स्पष्ट पारे । ‘निजी क्षेत्रलाई पखेटा फिँजाएर उड्न दिने हो, तर नियमनकारी भूमिकामा राज्य सधैं रहनेछ,’ उनले भने । उनले अब बजेट निर्माण प्रक्रिया विगतजस्तो अस्पष्ट र अन्योलपूर्ण नहुने दाबी गरे । ‘अबको बजेट वाचापत्रअनुसार आउनेछ, र हामी बोलेका कुरा कार्यान्वयनमा ल्याउँदैछौं,’ उनले जोड दिए । सरकारले कर प्रणाली सुधार गर्दै निजी क्षेत्रमाथिको अनावश्यक कर बोझ घटाउने काम अघि बढाएको उनले बताए । साथै, उद्यमी व्यवसायीले भनसुन, घुस र अनौपचारिक माध्यमबाट काम गराउने पुरानो अभ्यास अन्त्य गरिने उनले स्पष्ट पारे । ‘अब राम्रो नियतका व्यवसायीलाई पनि दुःख दिने खराब नियतको ब्युरोक्रेसी सह्य हुँदैन, त्यसलाई ध्वस्त पार्छौं,’ उनले कडा रूपमा भने । उनले प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै लाइसेन्स प्रणालीमा रहेको जटिलता हटाउने र ‘लाइसेन्स राज’ अन्त्य गर्ने अभियान जारी रहेको बताए । साथै व्यवसायीहरूलाई अनावश्यक रूपमा डरत्रास वा धरपकडको वातावरण सिर्जना नहुने पनि उनले आश्वासन दिए । वाग्लेले आर्थिक सुधारका लागि निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गर्दै उद्यमी व्यवसायीलाई पारदर्शिता, उत्तरदायित्व र राष्ट्रप्रतिको प्रतिबद्धता प्रदर्शन गर्न आग्रह गरे । ‘निजी क्षेत्रले अभूतपूर्व जनमत हासिल गर्ने गरी विश्वास जित्नुपर्छ,’ उनले भने । उनले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सबै पक्षले जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै विगतका कमजोरीबाट सिकेर अब सुधारको नयाँ युगमा प्रवेश गर्नुपर्नेमा जोड दिए ।