हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउँदै सरकार, मन्त्री यादवले गरिन् निरीक्षण
काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा औद्योगिक क्षेत्रको निरीक्षण गरेकी छिन् । निरीक्षणपछि मन्त्री यादवले बन्द अवस्थामा रहेको कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले आवश्यक तयारी तीव्र रूपमा अघि बढाइने बताइन् । उनले उद्योग सञ्चालनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि धमाधम काम अघि बढाइने बताइन् । सरकारले लामो समयदेखि बन्द रहेका सार्वजनिक उद्योगहरूलाई पुनः सक्रिय बनाउने नीति अनुसार हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरेको छ। मन्त्री यादवले औद्योगिक क्षेत्रको अवस्थाबारे समेत जानकारी लिँदै आवश्यक पूर्वाधार, लगानी र व्यवस्थापकीय सुधारमार्फत उद्योगलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिइन् ।
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा, १९ लाख राजस्व संकलन
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट १९ लाख ७० हजार दुई सय रुपैयाँ राजस्व संकलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । मादकपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेका बेला आज काठमाडौंको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा उनीहरू पक्राउ परेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो । सो क्रममा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा पाँच जना चालक फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेकामध्ये दुई जना बस चालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यान चालक रहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले संयुक्त टोलीद्वारा गरिएको चेकिङका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
इन्डोनेसियाली महिला आरोहीद्वारा आमादब्लमको सफल आरोहण
काठमाडौं । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको नेपालस्थित इन्डोनेसियाली दूतावासले जनाएको छ । उक्त आरोहण ‘इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन–२०२६)’ अन्तर्गत गरिएको हो । यस अभियानलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहण क्षेत्रमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ । यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरण हो । योजनाअनुसार सन् २०२७ मा मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने लक्ष्य राखिएको छ । इन्डोनेसियामा महिला अधिकार र समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ । नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् । उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालसहित यहाँस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए । आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम चरणमा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए । लगभग १८–१९ घण्टासम्मको कठिन यात्रापछि नाद्याले सफलतापूर्वक चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । आरोहणपछि उनी सकुशल काठमाडौं फर्किएकी छन् । यस उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो । हालसम्म आमादब्लम सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ । दूतावासका अनुसार नेपालका हिमाल आरोहण केवल साहसिक यात्रा मात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान हो ।