काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ ।
तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जनाएको छ ।
प्रशासनले जारी गरेको सूचनामा कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम गरिने उल्लेख छ ।
धादिङको कृष्णभीरमा सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालनमा नआएसम्म तुइन खोलामा माटो कटानको काम जारी रहने सूचनामा जनाइएको छ ।
तुइन खोलामा समय–समयमा पहिरो जाने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्दै पहिरोको माथिल्लो भागमा झर्न सक्ने माटो हटाउन लागिएको हो ।
प्रशासनका अनुसार नारायणगढ-मुग्लिन सडक बिहान ८ बजेदेखि ८:३० बजेसम्म, १०:३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १:३० बजेसम्म, ३ः५० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सञ्चालनमा रहनेछ ।
तोकिएका समयबाहेक सडकको उक्त स्थानमा सवारी साधन रोकेर माटो कटान तथा पहिरो रोकथामको काम गरिने सूचनामा उल्लेख छ ।