काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र विस्तार गर्न हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ पुर्याउने प्रस्ताव गरेको छ ।
रात्रिकालीन यातायातको प्रभाव अध्ययनका लागि गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो ।
हाल नागढुंगा-विमानस्थल र लगनखेल-बुढानीलकण्ठ गरी दुईवटा रुटमा मात्र यो सेवा उपलब्ध रहेकोमा अब गोदावरी-बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल वायु सेवासम्मका नयाँ रुटहरू थपिने भएका छन्।
यी प्रस्तावित रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक केन्द्र र मुख्य नाकाहरूलाई आपसमा जोड्ने बताइएको छ ।
रात्रिकालीन यातायात सेवाको प्रारम्भिक तथ्याङ्क अनुसार वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले यो सेवा प्रयोग गरेका थिए ।
अध्ययन अनुसार एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गर्ने गरे पनि यसको सञ्चालन खर्च ४ हजार ८१४ रुपैयाँ लाग्ने हुनाले प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
यात्रा गर्ने समय तालिका अनुसार राति ८ बजेदेखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप रहने गरेको छ भने यात्रुहरूमध्ये छोटो दूरीका ४७ प्रतिशत, मध्यम दूरीका ३२ प्रतिशत र लामो दूरीका २१ प्रतिशत रहेका छन् ।
सेवालाई थप सुरक्षित र प्रविधियुक्त बनाउन महिला, ज्येष्ठ नागरिक तथा पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा निगरानी क्यामेरा (सीसीटीभी), स्थान पहिचान प्रणाली (जीपीएस) र व्यवस्थित बस बिसौनी निर्माण गर्न सिफारिस गरिएको छ ।
यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिकासहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको संयुक्त सहभागितामा सेवा विस्तार गर्न सुझाव दिइएको छ ।
काठमाडौं महानगरपालिकाले उपत्यकाका सबै स्थानीय तहहरूलाई समेटेर एकीकृत र दिगो रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी अघि बढाएको छ ।