पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति
पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए । यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ । गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए । रासस
मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक
मुस्ताङ । नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो । बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी थियो । चिनियाँ प्रतिनिधिमण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका पाँच जना कर्मचारीहरुको उपस्थिती थियो । नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीलगायतको उपस्थिति थियो । यसैगरी नेपाल–चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्टलगायतको उपस्थिति रहेको थियो । लोमान्थाङमा आयोजित नेपाल–चीन संयुक्त सीमा सुरक्षा बैठक द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए । प्रजिअ शर्माले कोरलानाका क्षेत्रको सीमा सुरक्षा, कोरला नाकाको सीमा सुरक्षा आवागमनमा कसरी सहज बनाउने र सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, चोरी तस्करी र अवान्छित गतिविधिहरुको नियन्त्रणमा कसरी भूमिका खेल्नेलगायतका विषयमा मौखिक छलफल भएको बताए । यसैगरी आगामी दिनमा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सम्वन्धलाई थप प्रभावकारी र परिस्कृत तुल्याउँदै लैजाने भन्ने विषयमा छलफल भएको प्रजिअ शर्माले उल्लेख गरे । यसैगरी लोमान्थाङमा आयोजित (नेपाल–चीन) संयुक्त सुरक्षा समन्यात्मक बैठकको सहजीकरण लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका थिए । नेपाल–चीन कोरलास्थित सीमावर्ती दुईदेशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सुमधुर सम्बन्धलाई सुधार गर्दै थप परिस्कृत बनाउँदै लैजाने मौखिक सहमति भएको गाउँपालिका अध्यक्ष बिष्टले उल्लेख गरे । सीमा क्षेत्रमा देखिएका समस्या र चुनौतीहलाई दुई देशका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु मिलेर आपसी समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाइएको छ । नेपाल–चीन उत्तरी कोरलास्थित नेपाल–चीनका सुरक्षा अधिकारी र स्थानीय जनतिनिधिहरुबीच बर्सेनि आलोपालो समन्वयात्मक बैठक बस्ने प्रचलन छ । चालु वर्षको भदौ महिनामा चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्बा काउन्टीमा नेपाल–चीन संयुक्त सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको थियो । बैठकका लागि चिनियाँ टोली कोरलानाका हुँदै मुस्ताङको लोमान्थाङ आइपुगेका थिए । यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्मालगायत सुरक्षा प्रमुखको टोली बिहीबारनै बैठकका लागि लोमान्थाङ पुगेका थिए । रासस
चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो । चिया र सुपारीको पर्यावरणीय आवश्यकताअनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती सुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिए । 'सुपारीको अग्लो बोटले चिया झाडीलाई आवश्यक पर्ने हलुका छहारी दिन्छ', उनले भने, 'यसबाट एउटै बगान र एउटै लगानीबाट चिया र सुपारी दुवैको दोहोरो लाभ लिन सकिन्छ ।' झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै बालीको खेती एकसाथ गरेको यो पहिलोपटक हो । उक्त बगानमा करिब एक दशकअघि नै चियाका बिरुवा रोपेर उत्पादन लिन थालिएको थियो भने सुपारीका बिरुवा तीन वर्षअघि मात्र थपिएको हो । हाल ६० बिगाहा क्षेत्रफलमा ६० हजार सुपारीका बोटहरू हुर्किरहेका छन् । चियाले लगातार उत्पादन दिइरहेको भन्दै उनले सुपारीले भने अबको चार वर्षपछि मात्र उत्पादन दिन थाल्ने बताए । चिया बगानभित्र सुपारी विस्तारका लागि कम्पनीले रु एक करोड अतिरिक्त लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा कूल १०२ बिघा चिया बगानमै अन्तरबालीका रूपमा सुपारीखेती विस्तार गर्ने कम्पनीको योजना छ । 'हाम्रो बगानमा चिया पहिल्यै थियो', मिश्रित खेतीको अनुभव सुनाउँदै अधिकारीले भने, 'भारतको आसाम भ्रमणका क्रममा त्यहाँ चिया बगानभित्रै सुपारीका बोटहरू हुर्काएको देखेपछि मलाई पनि यो सोच आएको हो । हामीले आसामबाटै उन्नत जातको सुपारीको दाना ल्याएर आफ्नै नर्सरीमा बिरुवा तयार गर्यौँ । अहिले ती बोटहरू तीन वर्षका भइसके ।' ऐतिहासिक रूपमा भारतबाटै नेपाल भित्रिएका यी दुवै बालीको मुख्य निर्यात बजार पनि भारत नै हो। हाल नेपालका ३१ जिल्लाको २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चियाखेती फैलिएको छ भने सुपारीखेती मुख्य गरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी करिब चार हजार हेक्टरमा छ। मुलुकको कूल सुपारी उत्पादन र क्षेत्रफलको दुई तिहाइभन्दा बढी हिस्सा झापा जिल्लाले मात्र ओगटेकाले यसलाई ‘सुपारीको राजधानी’ समेत भनिन्छ । जिल्लाको करिब तीन हजार हेक्टरमा सुपारीखेती हुन्छ । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका सुपारी उत्पादनका प्रमुख केन्द्र हुन्, जहाँ रैथाने किसानहरूले परम्परागत रूपमै यसको खेती गर्दै आएका छन् । पछिल्लो समय झापामा छहारी मन पराउने बालीहरू चिया, मरिच, अलैँची र केराको अन्तरबाली लगाएर एउटै जमिनबाट बहुआयामिक लाभ लिने उत्कृष्ट अभ्यास भइरहेको छ । मेचीनगर नगरपालिका–४ का अगुवा किसान रवि नेपालले यसअघि नै व्यक्तिगत रूपमा यस्तो मिश्रित खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । व्यावसायिकस्तरमा ठूलो लगानी गरेर चिया र सुपारीको मिश्रित खेती गर्ने जोखिम हडिया रियल टी इस्टेटले पहिलोपटक उठाएको हो । बगानमा सुपारीका बोटहरू क्रमशः हुर्किंदै गएपछि छहारीका लागि पहिले लगाइएका सिरिसलगायतका रुखहरू हटाइएको छ । कम्पनीले सुपारीखेतीको छुट्टै हेरचाह, गोडमेल र मलजलका लागि विशेष प्राविधिक तथा श्रमिकसमेत परिचालन गरेको जनाएको छ । हडिया इस्टेटको यो मिश्रित खेती मोडेल सफल भएमा जिल्लाका अन्य ठूला चिया बगानहरूमा पनि सुपारी खेती विस्तारको नयाँ ढोका खुल्नेछ । यसैको सिको गर्दै मेचीनगर नगरपालिका–१५ स्थित ‘वंशल टी इस्टेट’ले पनि परीक्षणका रूपमा चिया बगानभित्र सुपारीका बिरुवा रोप्न सुरु गरिसकेको छ ।